३० आश्विन २०८३, शुक्रबार

अमेरिकाद्वारा नेपाल आउने नागरिकलाई ट्राभल एड्भाइजरी : जोखिम घट्यो तर सतर्कता जरुरी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई लक्षित गर्दै नेपाल यात्रासम्बन्धी सुरक्षा सूचनामा संशोधन गरेको छ। पछिल्लो अद्यावधिकअनुसार नेपाललाई दिइएको यात्रा चेतावनीको स्तर घटाएर ‘लेभल–२’ मा राखिएको छ, जसले यात्राका क्रममा विशेष सावधानी अपनाउनुपर्ने संकेत गर्दछ।

मार्च ३१ मा सार्वजनिक गरिएको नयाँ सूचनामा विगत केही महिनादेखि देखिएको राजनीतिक प्रदर्शन र अस्थिरता हाल शान्त बन्दै गएको उल्लेख गरिएको छ। विशेषगरी २०२५ सेप्टेम्बरयता भएका आन्दोलनहरू अहिले न्यून भएको जनाइएको छ। यद्यपि, शहरी क्षेत्रमा कहिलेकाहीँ आकस्मिक रूपमा विरोध प्रदर्शन हुन सक्ने सम्भावना कायमै रहेको भन्दै सतर्क रहन सुझाइएको हो।

यात्रा परामर्शमा कुनै पनि भीडभाडयुक्त स्थानबाट टाढा बस्न, स्थानीय प्रशासनका निर्देशन पालना गर्न र अप्रत्याशित अवस्थाका लागि तयार रहन अमेरिकी नागरिकलाई आग्रह गरिएको छ। कतिपय प्रदर्शनहरू पूर्वसूचना बिना सुरु भई हिंसात्मक रूप लिन सक्ने जोखिम पनि औंल्याइएको छ।

स्वास्थ्य सेवाको सन्दर्भमा, काठमाडौंमा उपलब्ध सुविधा तुलनात्मक रूपमा राम्रो भए पनि अत्यधिक भीड, सीमित स्रोतसाधन र उपचारअघि भुक्तानीको आवश्यकता जस्ता चुनौती रहेको उल्लेख गरिएको छ। साथै, विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले नबेहोर्ने भएकाले यात्रा अघि आवश्यक बीमा गर्नु उपयुक्त हुने सुझाइएको छ।

प्राकृतिक विपद्का दृष्टिले पनि नेपाल जोखिमयुक्त क्षेत्रभित्र पर्ने उल्लेख गर्दै विशेषगरी मनसुनको समयमा बाढी र पहिरोका कारण यातायात र उद्धार सेवामा असर पर्न सक्ने चेतावनी दिइएको छ।

यसैबीच, नेपाल भ्रमण गर्ने अमेरिकी नागरिकलाई आफ्ना यात्रा विवरण दूतावासमा दर्ता गर्न, नियमित रूपमा स्थानीय समाचार हेर्न र आवश्यक परे यात्रा तालिका परिमार्जन गर्न सिफारिस गरिएको छ।