काठमाडौं । प्रहरी हिरासतमा रहेकालाई धरौटीमा छुटाइदिने भन्दै पैसा ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्गभित्र बस्ने ४५ वर्षीय हरिबहादुर थापामगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापामगर) रहेका छन् ।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परी हाल सुनधारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका ३ जना प्रतिवादीहरूलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेका हुन् ।
उनीहरुले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै सेटिङ मिलाएर धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए । उनले धरौटी रकम र वकिलको बहस खर्च भन्दै पीडित पक्षलाई मिठु मगरको बैंक खातामा ९ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए ।
रकम प्राप्त गरेपछि पनि काम नभएको र ठगी गरेको पुष्टि भएपछि प्रहरीले उनीहरूलाई मण्डिखाटारबाट नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया