काठमाडौं । भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनमा आन्दोलनका क्रममा फैलाइएका भ्रामक सूचनाबारे विस्तृत उल्लेख गरिएको छ। प्रतिवेदन सार्वजनिक नभए पनि बाहिरिएको विवरणअनुसार सामाजिक सञ्जालमार्फत गलत खबर फैलाउने केही व्यक्तिहरूको पहिचान गरिएको जनाइएको हो।
आयोगका अनुसार आन्दोलनको बेला विभिन्न झुटा दाबीहरू व्यापक रूपमा प्रचार भए, जसले सर्वसाधारणमा भ्रम र त्रास फैलाएको थियो। कतिपयले ठूलो संख्यामा मृतक भेटिएको, नेताहरू आक्रमणमा परेको वा फरार भएको जस्ता आधारहीन सूचना फैलाएका थिए।
यसमा केही सामाजिक सञ्जाल प्रयोगकर्ता, कलाकार तथा प्रभावशाली व्यक्तिहरू संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ। ‘भ्रामक प्रचारहरू जस्तै २३ गतेको घटनामा चुच्चेपाटीस्थित भाटभटेनी मा ३५ शवको कंकाल भेटिएको भनी प्रचार गरियो। त्यस्तै ३२ जना हराइरहेका प्रदर्शनकारी बानेश्वर संसद भवनभित्र मृत अवस्थामा भेटिए भनी २४ गते प्रचार गरियो,’ जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ, ‘यस्तो प्रचार गर्नमा सोसल मिडिया इन्फ्लुन्सर टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने जस्ता व्यक्तिहरु संलग्न रहेको पाइन्छ।’
त्यस्तै पूर्व राजालाई स्वागत गर्न र फेरि राजा बनाउन नारायणहिटी दरबार सफा गरिँदैछ भन्ने समाचार पनि सामाजिक सञ्जालमा प्रेषित गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै पत्रकार दिलभूषण पाठकले हिल्टन होटलसम्बन्धी बनाएको समाचारको विषय पनि प्रतिवेदनमा समावेश छ।
‘पत्रकार दिलभूषण पाठकले केही समयअघि हिल्टन होटलमा शेरबहादुर र आरजु देउवाका छोरा जयवीर सिं देउवाको लगानी छ भनी तथ्यहीन प्रचार गर्दा हिल्टन होटल जल्न गएको छ। यसले नेपालमा वैदेशिक लगानी निरुत्साहित हुन गै ठूलो क्षति हुन पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ।
यस्ता सामग्रीले सुरक्षा अवस्था झन् जटिल बनाएको र जनमानसमा गलत धारणा सिर्जना गरेको आयोगले निष्कर्ष निकालेको हो।
प्रतिवेदनले तथ्यहीन समाचार तथा अफवाहले सार्वजनिक सम्पत्ति र वैदेशिक लगानीमा समेत नकारात्मक असर पारेको औंल्याउँदै यस्ता गतिविधिमाथि कडा निगरानी आवश्यक रहेको सुझाएको छ।








प्रतिक्रिया