९ असार २०८३, मंगलबार

एन्फालाई अध्यागमनको पत्र– क्लबहरूमा रहेका विदेशी खेलाडीको विवरण तीन दिनभित्र पठाउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै नेपालका फुटबल क्लबमा आबद्ध विदेशी खेलाडीको विवरण माग गरेको छ ।

अध्यागमनले आज एन्फालाई पत्र पठाउँदै क्लबहरूमा रहेका विदेशी खेलाडीको विवरण तीन दिनभित्र उपलब्ध गराउन भनेको छ ।

फुटबल क्लबहरूले पर्यटन भिसामा आएका विदेशीलाई श्रम स्वीकृति नै नलिई खेलाएको भन्ने उजुरी परेपछि अध्यागनले एन्फासँग विवरण माग गरेको हो ।

“त्यस संघबाट सञ्चालन भएको राष्ट्रिय महिला÷पुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजुरी यस विभागमा प्राप्त हुन आएको छ । तसर्थः उक्त लिगमा सहभागी फुटबल क्लबहरूले के कति संख्यामा कुन–कुन मुलुकका खेलाडीहरूलाई समावेश गराएका छन् सो सम्बन्धी विवरण ३ (तीन) दिनभित्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ,” अध्यागमनले एन्फालाई पठाएको पत्रमा उल्लेख छ ।

यसअघि गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले चैत ५ गते पर्यटकीय भिसामा रहेका विदेशीलाई नेपाल हुने फुटबल खेलमा सहभागी नगराउन एन्फालाई भनेको थियो ।

“कुनै पनि खेलमा विदेशी खेलाडीहरूलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउनुहुन अनुरोध छ,” अध्यागमनले चैत ५ गते एन्फालाई पत्र पठाउँदै भनेको थियो ।

त्यसपछि एन्फाका अधिकारी अध्यागमन पुगी चैत ६ गतेसम्म श्रम स्वीकृति नलिएकाको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाई फर्केका थिए । तर, चैत ६ गते नै एन्फाले चलिरहेको राष्ट्रिय महिला÷पुरुष लिग फुटबल खेलहरू स्थगित गरेको घोषणा गरेको थियो ।

विदेशी खेलाडीलाई श्रम स्वीकृति लिनको लागि एन्फाले प्रक्रिया सुरु नगरेपछि अध्यागनले मंगलबार पुनः पत्र पठाई विवरण माग गरेको हो ।

अध्यागमन नियमावली, २०५१ को नियम २० मा भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था छ ।