काठमाडौं । अमेरिका–इजरायल र इरान युद्धको बीचमा साउदी अरेबियाको यान्बु बन्दरगाहस्थित समरेफ तेल रिफाइनरी (प्रशोधन केन्द्र)मा हवाई आक्रमण भएको छ । अमेरिकी लगानी रहेको तेल रिफाइनरीमा इरानले हवाई आक्रमण गरेको हो ।
इरानले हालै साउदी अरेबिया, युएई र कतारलाई तेल प्लान्ट खाली गर्न चेतावनी दिएको थियो । युएई र कतारमा रहेका तेल तथा ग्यास प्लान्टहरूमा पनि ड्रोन आक्रमण भएको छ ।
यसैबीच, साउदी अरेबियाले इरानलाई कडा चेतावनी दिएको छ । साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदले भनेका छन्– हाम्रो देशसँग इरानलाई जवाफ दिने पूर्ण क्षमता छ । इरानको आक्रमण पूर्वनियोजित देखिन्छ र हाम्रो धैर्यताको परीक्षा लिनु हुँदैन ।
यसैबीच, कतारमा भएका आक्रमणहरूपछि कतारी सरकारले स्थितिबारे जानकारी गराएको छ । कतारी गृह मन्त्रालयले रास लाफान औद्योगिक शहर, अल धाकिरा र अल खोर क्षेत्रहरूमा वायु गुणस्तर सामान्य स्तरमा रहेको बताएको हो ।
मन्त्रालयका अनुसार नागरिक सुरक्षा परिषद्ले यी क्षेत्रहरूको वायु गुणस्तर जाँच गरेको थियो र सबै सूचकहरू ठिक पाइएको छ ।
हालै इरानले कतारको सबैभन्दा ठूलो ग्यास प्लान्ट रास लाफान औद्योगिक शहरमा क्षेप्यास्त्र आक्रमण गरेको थियो, जसका कारण त्यहाँ ठूलो क्षति भएको खबर बाहिर आएको थियो ।








प्रतिक्रिया