२९ आश्विन २०८३, बिहिबार

गगनलाई चन्द्र भण्डारीको सुझाव– राजीनामा दिने होइन, जिम्मेवारी पूरा गर्ने समय आयो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिनेभन्दा पनि जिम्मेवारी पूरा गर्ने समय आएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत भण्डारीले पार्टीका सभापति गगन थापालाई राजीनामा दिनुभन्दा पनि छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो । त्यसैले गगनकुमार थापाज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’

भण्डारीले समस्या देखेर भाग्नुभन्दा पनि उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको भएको उल्लेख गरे । उनले भने, ‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो ।’

उनले यो अवस्थामा कांग्रेस बचाउनु आफैंमा नैतिक दायित्व भएकाले युवाले कांग्रेसलाई छोड्दै गएको समयमा पार्टीलाई औषधि खुवाउनुपर्ने भएको बताए । यस्तोबेला कांग्रेस छाडेर हिँड्न नहुने उनको तर्क छ ।

‘नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ,’ उनले लेखेका छन् ।