२९ आश्विन २०८३, बिहिबार

स्वतन्त्र उम्मेदवार माण्डव्यको आरोप : ‘स्वतन्त्र राजनीति हाइज्याक भयो, चुनावले नयाँ निकास दिँदैन’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार राजानन्द माण्डव्यले स्वतन्त्र राजनीतिक अभियानलाई दलहरूले कब्जा गरेको आरोप लगाएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्वतन्त्र राजनीति गर्ने अभियानलाई संस्थागत दलहरूले आफ्नो हितअनुसार प्रयोग गरेको दाबी गरे ।

उनले २०७९ सालको स्थानीय तह निर्वाचनपछि सुरु गरिएको स्वतन्त्र उम्मेदवारी अभियानलाई पछि दलहरूले प्रयोग गरेको बताए । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएपछि स्वतन्त्र आन्दोलनको मर्म कमजोर भएको उनको भनाइ थियो ।

माण्डव्यले स्वतन्त्र भन्ने शब्द साझा आन्दोलनको प्रतिीक भएकाले कुनै दलले त्यसलाई आफ्नो नाममा प्रयोग गर्नु उपयुक्त नहुने तर्क गरे । उनले उक्त नाम दर्ता प्रक्रियामा असहमति जनाउँदै निर्वाचन आयोगमा उजुरी दिएको स्मरण पनि गराए ।

‘स्वतन्त्र उम्मेदवारी अभियान एकाएक हाइज्याक भयो, त्यो स्वतन्त्र उम्मेदवारी अभियान कसैले हाइज्याक गर्यो भने त्यतिबेला तत्कालिन मुकुल ढकाल र रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भयो र राष्ट्रिय स्वतन्त्र पार्टी गठन भइसके पछाडि त्यो पार्टी निर्वाचन कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी भनेर नामकरण भयो २०७९ साल तीन महिनाका सात गते र आठै गते हामीले यो स्वतन्त्र भन्ने नाम यसरी कब्जा गर्न पाइदैन । यो स्वतन्त्र भन्ने स्वतन्त्रै हुनुपर्छ,’ उनले भने ।

उनले दलमा पुराना राजनीतिक व्यक्तिहरूको वर्चस्व कायम रहेको भन्दै नयाँ वैकल्पिक राजनीति अघि बढ्न नसकेको बताए । ‘हिजो कांग्रेस, एमाले, माओवादीमा रहेका व्यक्तिहरू नै आज नयाँ दलमा छन् भने त्यसलाई नयाँ राजनीति भन्न मिल्दैन,’ उनले भने ।

माण्डव्यले वर्तमान राजनीतिक प्रक्रियामाथि पनि प्रश्न उठाउँदै आन्दोलन र चुनावबीचको सम्बन्धबारे स्पष्ट समीक्षा हुनुपर्ने बताए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायत पुराना नेताहरूलाई पुनः उम्मेदवार बनाइनु आन्दोलनको भावना विपरीत भएको दाबी गरे । साथै, उनले रवि लामिछाने, बालेन शाह जस्ता नयाँ अनुहारले पनि पुरानै संरचनालाई निरन्तरता दिएको आरोप लगाए ।

उनले राजनीतिक परिवर्तनका नाममा पुरानै शक्ति संरचना दोहोरिएको भन्दै अहिलेको चुनावबाट ठोस निकास नआउने जिकिर गरे ।

माण्डव्यले आगामी दिनमा देशभरका स्वतन्त्र उम्मेदवार र अभियन्ताहरूलाई एकीकृत गरेर नयाँ मोर्चा निर्माण गर्ने घोषणा पनि गरे। ‘हामी कुनै दलमा आबद्ध छैनौं, तर स्वतन्त्रहरूको साझा मोर्चा बनाएर आगामी निर्वाचनमा संगठित रूपमा जानेछौं,’ उनले भने ।