२९ आश्विन २०८३, बिहिबार

‘समृद्ध मकवानपुर’ बनाउने योजनासहित बकैया पुगेका एमाले उम्मेदवार रानालाई भव्य स्वागत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । नेकपा (एमाले)बाट मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले बकैया गाउँपालिकामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन् । घरदैलोका क्रममा स्थानीय मतदाताहरूले उत्साहपूर्वक एमालेको सूर्य चिन्हमा मतदान गरी रानालाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार र बुधबार रानाले बकैयाको सबै वडाहरुमा पुगी मतदातासँग प्रत्यक्ष भेट गरी आफ्नो प्रतिवद्धतासहित मत मागेका छन् । घरदैलो अभियानकै क्रममा बाराको निजगढ हुँदै बकैया–६ गवरस्थान पुगेका उम्मेदवार रानालाई स्थानीयवासीहरूले भव्य स्वागत गरेका छन् । स्थानीयको व्यापक सहभागितासहित गरिएको स्वागत कार्यक्रमले बकैयामा एमालेप्रतिको जनसमर्थन झनै बलियो बन्दै गएको छ ।

स्थानीय विकासमा रानाको ऐतिहासिक योगदानलाई स्मरण गर्दै मतदाताहरूले उनीप्रति दृढ विश्वास व्यक्त गरेका छन् । २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापति रहँदा रानाले बकैया–६ गवरस्थानमा जनजागृति आधारभूत विद्यालय स्थापना स्वीकृत गराएको योगदान आज पनि उदाहरणीय रूपमा स्मरण गरिन्छ ।

विद्यालयका तत्कालीन अध्यक्ष टंक गोलेले जिल्लाको समग्र विकासमा निरन्तर योगदान पुर्‍याएका इमानदार, कर्मठ र विकासप्रेमी नेता रानालाई २८ वर्षपछि पुनः मतदान गर्न पाउँदा गर्व लागेको बताए । “विकासका काम देखिने गरी गर्ने नेता र पार्टी भनेकै एमाले हो,” गोलेले भने ।

घरदैलो अभियानका क्रममा रानाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीका विषयमा आफ्ना स्पष्ट योजना सार्वजनिक गरेका छन् । एमाले नेतृत्वको सरकारले देशभर ठूला पूर्वाधार, सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्य संस्थाको विकास, तथा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा गर्दै आएको उल्लेख गर्दै उनले बकैयालाई पनि समृद्धिको केन्द्र बनाउने प्रतिबद्धता जनाए ।

उनले पछिल्लो समय मुलुकले भोगेको विध्वंस, अस्थिरता र विकास अवरोधपछि अब दृढ नेतृत्वसहित राष्ट्र निर्माणको नयाँ चरण आवश्यक रहेको बताए । “अब नारा होइन, परिणाम चाहिएको छ । एमालेले मात्र स्थायित्व, विकास र राष्ट्रिय हितको रक्षा गर्न सक्छ,” रानाले भने ।

स्थानीय जनउत्साह, विगतका ठोस उपलब्धि, एमालेको विकासवादी नीति र राष्ट्रियताप्रतिको स्पष्ट अडानका कारण बकैयामा एमालेको जित सुनिश्चित देखिएको स्थानीयवासीहरूको विश्वास छ ।