काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा भारत–पाकिस्तानबीच भएको ‘युद्धविराम’ आफ्नो पहलमा सम्भव भएको दाबी पुनः दोहोर्याएका छन् । उनले २०० प्रतिशतसम्मको आयात शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएर दुवै देशलाई वार्तामा ल्याएको बताएका हुन् ।
अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले ‘रिसिप्रोकल ट्यारिफ’ लागू गर्दा कानुनी अधिकार नाघेको ठहर गरेको सन्दर्भमा उनले उक्त दाबी दोहोर्याएका हुन् ।
ट्रम्पले भने, “मैले ८ वटा युद्ध समाधान गरेको छु, जसमा भारत–पाकिस्तानजस्ता ठूला र सम्भावित आणविक द्वन्द्व पनि पर्छन् । यदि उनीहरू लड्न चाहन्थे भने अमेरिकासँग व्यापार गर्न नपाउने र २०० प्रतिशत ट्यारिफ तिर्नुपर्ने भनेँ । त्यसपछि उनीहरूले फोन गरेर शान्ति भएको बताए ।”
उता, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले ‘पिस बोर्ड’को उद्घाटन बैठकमा ट्रम्पको प्रशंसा गर्दै उनलाई ‘शान्तिका व्यक्ति’ र ‘दक्षिण एसियाली जनताको उद्धारकर्ता’ बताएका छन् । उनले ट्रम्पको समयोचित हस्तक्षेपले लाखौं मानिसको सम्भावित ज्यान जोगिएको दाबी गरेका छन् ।
यो घटनाक्रम अप्रिल २०२४ मा भएको पहलगाम आतंकवादी आक्रमणपछि उत्पन्न तनावसँग सम्बन्धित छ । आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । त्यसको जवाफमा भारतले ‘अपरेसन सिन्दुर’अन्तर्गत पाकिस्तानस्थित आतङ्कवादी पूर्वाधारमाथि लक्षित आक्रमण गरेको थियो । तर भारतले ट्रम्पको मध्यस्थताको दाबी अस्वीकार गर्दै आएको छ । भारतले जम्मु–कश्मीरलगायतका सबै मुद्दा दुई देशबीचकै द्विपक्षीय वार्ताबाट समाधान हुनुपर्ने आफ्नो दीर्घकालीन अडान पनि पुनः स्पष्ट पारेको छ । एएनआई















प्रतिक्रिया