२९ आश्विन २०८३, बिहिबार

मान्ठा अझै डराएका छन् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chintamani-dhungelमैले मिखाईल सोलोखोभको ‘प्रशान्त दोन’ र जोन रीडको ‘ती दश दिन जब संसार जगमगायो’ (नेपाली अनुवाद) किताब पढेको थिए । त्यसपछिको लामो समयसम्म युद्ध घटनामा आधारित कुनै पुस्तक पढ्ने मौका जुरेन । एकदिन पत्रकार मित्र प्रकाश शाहले फेसबुक स्टाटसमा पत्रकार मोहन मैनालीको ‘मान्ठा डराएको जुग’ फोटा सहित राखेका थिए । त्यही सूचनाका आधारमा प्रकाशसंग भेट गरे, उनले मलाई पुस्तक दिए । घर आएर मैले त्यो पुस्तक पढे । मैले अहिलेसम्म कुनै पनि पुस्तक कम्तिमा दुई तीन दिन भन्दा कम समयमा पढि सिध्याएको रेकर्ड छैन् । मैले पढेका मध्येको सबैभन्दा सानो पुस्तक नयनराज पाण्डेको ‘उलार’ हो । त्यो पुस्तक पढिसक्न पनि मलाई तीन दिन लाग्यो । म बिस्तारै पढ्छु । पढ्दै गर्दा पुस्तकका पात्रहरूको आकारप्रकार, उमेर, भावना, दशा, आर्थिक, सामाजिक अवस्थाले बिझाउने गर्छ । पुस्तक पढ्दा यस्तो अवस्था अरुको पनि हुन्छ कि हुँदैन, थाह छैन ।

कोही मान्ठाले आफ्ना राजनीतिक उन्मादले त्यो जुग भोगे । कोही मान्ठाले बाध्यताले थिचिएर भोगे । जेसुकै भए पनि नेपाली मान्ठाले एक दशकसम्म त्यस जुगलाई भोग्नु पर्‍यो । त्यसैले त जुल्फे सार्कीले डराउँदै भने- ‘नौला मान्ठा आउँदा डर मान्दा छौ हजुर ! मान्ठादेखि मान्ठा डराउन्या जुग आया । हजुरहरूलाई देखेर मेरो त हड काँपिगो, त्यसैले भागेको ।’

‘मान्ठा’ बाजुरा जिल्लाको उत्तरी क्षेत्रमा बोलिने शब्द रहेछ । मान्छेलाई मान्ठा भनिदो रहेछ बाजुरातिर । कति मिठो शब्द ‘मान्ठा’ । यसभन्दा अघि पत्रकार किशोर नेपालको एउटा टेलिभिजन कार्यक्रममा ‘द क्याराभान’ फिल्मका नायक ‘थिन्ले’ ले जनतालाई ‘जण्डा’ भनेको सुनेको थिए । जण्डा शब्द मलाई साह्रै मन परेको थियो । म साथीहरुसंग बोल्दा जनतालाई जण्ठा नै भन्ने गर्छु, अरुले बुझे पनि वा नबुझेपनि । हो तिनै जण्डा अथवा मान्ठा डराएको एउटा जुगलाई हामी नेपाली मान्ठाले पार गरेर आयौं । कोही मान्ठाले आफ्ना राजनीतिक उन्मादले त्यो जुग भोगे । कोही मान्ठाले बाध्यताले थिचिएर भोगे । जेसुकै भए पनि नेपाली मान्ठाले एक दशकसम्म त्यस जुगलाई भोग्नु प¥यो । त्यसैले त जुल्फे सार्कीले डराउँदै भने- ‘नौला मान्ठा आउँदा डर मान्दा छौ हजुर ! मान्ठादेखि मान्ठा डराउन्या जुग आया । हजुरहरूलाई देखेर मेरो त हड काँपिगो, त्यसैले भागेको ।’

हिन्दी फिल्मका नायक/खलनायक कादर खानले कुनै एउटा फिल्ममा भन्छन् ‘पब्लिक कि भूलने की आदत होती है’ । हो, नेपाली मान्ठाले बिर्सिन लागिसकेको एउटा कालखण्डमा भएका बर्बतापूर्ण ज्यादतीको विवरणलाई पत्रकार मोहन मैनालीले उजागर गरेका छन् । मैले पढेको युद्व उपन्यास प्रशान्त दोनको एउटा कज्जाक पात्र ग्रिगोरी कतिसम्म क्रुर हुन्छ भने उसले गाउँका सारा मान्छेलाई युद्व मैदानमा लैजान्छ । त्यसमा उसका आफ्नै वृद्ध बाबु समेत हुन्छन् । बुढ्यौलीले हिँड्न नसकेका आफ्ना बाबुलाई ग्रिगोरीले लात्तैलात्ताले हान्छ । बन्दुकका कुन्दाले हान्छ । त्यस्तै क्रुरता, त्यस्तै विभत्स ढंगले पदमबहादुरको हत्या भएको यथार्थ विवरण मान्ठा डराएको जुगमा छ । ढुंगैढुंगा, लठ्ठीले हानेर, बन्दुकका कुन्दाले हान्दा समेत नमरेपछि शाहीलाई गोली हानेर मारिन्छ ।

mantha_bookकोटबाडामा दैनिक ज्यालामजदुरी गर्न गएका जोगीमाराका १७ जना गरिब मजदुर समेत गरेर ३५ जनालाई सेनाले एकै चिहान बनायो । हामी रगतको आहालबाट आएका हौं भन्ने माओवादी रामलाल बिकको भनाईले पनि त्यसबेलाको कहालीलाग्दो क्रुरतालाई इंगित गर्दछ । युद्वरत पक्ष खास गरेर माओवादीले विकट गाउँहरूमा रहेका पुलपुलेसा लगायतका भौतिक संरचनालाई डढाएर, काटेर, ब्लास्ट गराएर ध्वस्त पारे, तर जतिबेला उनीहरूका सभा, सम्मेलनमा मान्छे ओसार्नका लागि आवश्यक पर्‍यो त्यतिखेर तिनै जनतालाई खोइरीलठ्ठी लगाएर बनाउन लगाए ।

पसिना चुहाएर भारी बोक्दा पनि दुईछाक सुविस्ताले खान नपुग्ने, छोराछोरीका रहर पूरा गर्न नसक्ने, भारतमा गएर लठ्ठी ठटाउँदा पनि आफ्ना लागि केही गर्न नसक्ने अबस्थामा अहिले पनि कुनै परिवर्तन आएको छैन् । जुल्फे सार्कीले भने जस्तै ‘राजनीति अब उसै भैगयो’ । हो, राजनीति उसै छ । व्यवस्था फेरिएर नयाँ थिति बस्ने संकेत अझै आकाश कै फल बनेको छ । अझै पनि राजनीति उसै रहेको छ र सायद रहनेछ । समाजमा अन्तरविरोधहरू अझै धेरै बढेर गएका छन् । त्यसैले मान्ठा अझै डराएकै छन् । मान्ठा ढुक्क हुन सक्ने अबस्था अहिले पनि छैन ।

गृहयुद्व र त्यसले पुर्‍याएका घाऊहरुको वर्णन ‘मान्ठा डराएको जुग’ नामक पुस्तकमा अतुलनीय ढंगले उल्लेख गरिएको छ । त्यसको कस्तो शब्दले चर्चा गरौं, म शब्दबिहिन भएको छु । उपन्यास भएको भए त त्यसलाई सुन्दर कृति भन्दा हुन्थ्यो, तर यहाँ त युद्वका घाऊ आलै छन् । जे होस्, आमरुपमा मान्ठाहरूले बिर्सिन लागेको अवस्थाको चित्रण गरेर देश, दुनियाँका मान्ठाहरू समक्ष घटना विवरण पुर्‍याईदिनु भएकोमा पत्रकार मोहन मैनालीलाई साधुवाद र मलाई पुस्तक पढ्न प्रेरणा दिने मेरा मित्र प्रकाशलाई पनि धन्यवाद ।