२९ आश्विन २०८३, बिहिबार

मुख्य अभियुक्त छुटे, चालक मात्रै जेलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Supreme_court_nepalकाठमाडौं, ३१ जेठ । करिब १५ करोड रुपैयाँ मूल्यबराबरको ३५ किलो सुन तस्करी गरेको अभियोगमा जेल परेका मोहन अग्रवाल ११ महिनापछि शुक्रबार जेलबाट निक्लिएका छन् । सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमशेर राणाले बुधबार उनलाई छाड्ने आदेश दिएका थिए ।

‘सर्वोच्चको आदेश भएपछि हामीले थुनिराख्ने कुरा भएन,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक खेमराज पुञ्जालीले भने, ‘साधारण तारेख दिएर आज (शुक्रबार) छाड्ने काम भयो ।’

गत वर्ष असारमा अग्रवालसहितका चार अभियुक्तलाई पुञ्जालीले तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिएको भन्दै जनही ३ करोड ७८ लाख ९० हजार धरौटी तिर्ने आदेश गरेका थिए । तातोपानी नाका हुँदै पटक-पटक सुन तस्करीमा संलग्न अभियुक्तहरूले त्यस आदेशविरुद्ध राजस्व न्यायाधिकरणमा १७ नम्बरको निवेदन (मुलुकी ऐन अदालती बन्दोबस्तीको १७ नम्बरअनुसार दिइने निवेदन जसमा मुद्दाको सुरुवाती सुनुवाइमा तल्लो अदालत वा निकायले दिएको आदेश चित्तनबुझे त्यसलाई बदर गरिपाऊँ भनी माथिल्लो अदालतमा दिने पुनरावेदनसरहको निवेदन) दिएका थिए ।

न्यायाधिकरणका अध्यक्ष दीपककुमार कार्की तथा सदस्यहरू भोलाप्रसाद खकुरेल र याज्ञवल्क्य उपाध्यायको इजलासले मुख्य अभियुक्त ग्याम्जो लामालाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

‘न्यायाधिकरणको आदेश हामीलाई चित्त बुझेन र त्यसविरुद्ध हामीले सर्वोच्चमा निवेदन दियौं,’ पुञ्जाली भन्छन्, ‘हामीविरुद्ध दुई प्रतिवादीहरू अग्रवाल र ओमबहादुर बज्राचार्यले निवेदन दिए ।’

सर्वोच्चमा न्यायाधीशको संख्या कम भएकाले महिनौंसम्म यो मुद्दामाथि कुनै सुनुवाइ हुन सकेन । निकै विवादका बीच आठ न्यायाधीश नियुक्त भएपछि मुद्दाको पालो आयो ।

नियुक्तिअघि निकै विवादमा तानिएका न्यायाधीशहरू पराजुली र राणाको इजलासले यसलाई हेर्‍यो । उनीहरूको इजलासले लामाका हकमा न्यायाधिकरणको निर्णय ठीक ठहर गर्‍यो भने अग्रवाललाई पनि साधारण तारेखमा छाड्न भन्यो । अनि बज्राचार्यको धरौटीमा पनि ३ करोड ७७ लाख ९० हजार घटायो । कान्तिपुर दैनिकबाट