काठमाडौं । श्रीमतीको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेज गरेको हो । बन्दी प्रत्यक्षीकरण रिट खारेज भएसँगै कोइरालाले अब २० वर्ष कैद भुक्तान गर्नै पर्ने भएको छ।
कोइरालाले आफ्नो स्वास्थ्य लगायतका कारण देखाउँदै कैदमुक्त गर्न माग गरेर मंसिर २६ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
२०६८ माघमा पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा कोइरालालाई सुरुमा जन्मकैद (२० वर्ष कैद) को फैसला भएको थियो। सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले २०७७ असारमा कोइरालाको सजाय घटाउने फैसला गरेको थियो।
८ वर्ष ६ महिना मात्रै कैद भुक्तान गरेका कोइराला उक्त फैसलापछि रिहा भएका थिए। तर सर्वोच्चले २०७९ जेठ १२ गते कोइरालाको कैद सजाय घटाउने फैसला बदर गरेको थियो।








प्रतिक्रिया