३० असार २०८३, मंगलबार

सहकारी संस्थाले बहालमा लिएका घरकोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरको सूचना

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागअन्तर्गत न्यायिक समितिबाट घर/कोठा खाली गर्ने भनी भएका निर्णयहरूमध्ये सहकारी संघसंस्थाले बहालमा लिएका घरकोठा खाली गर्ने सम्बन्धमा मिति २०८२/१०/१५ मा निर्णय कार्यान्वयन समितिको बैठकले गरेको निर्णयअनुसार उक्त सूचना प्रकाशित गरिएको हो ।

सूचनाअनुसार तपसिलमा उल्लेख गरिएका सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति), कर्मचारी तथा सदस्यहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागमा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको समयभित्र सम्बन्धित सहकारी संस्थाका पदाधिकारी, कर्मचारी वा सदस्य सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार सहकारीले बहालमा लिएका घरकोठा खाली गरिने महानगरपालिकाले जनाएको छ ।

घरकोठा खाली गरिँदा सहकारी कार्यालयमा रहेका सामानहरू सम्बन्धित घरधनीको जिम्मामा दिइने र पछि सहकारीका सम्पत्ति वा सरसामान सम्बन्धमा कुनै दाबीविरोध स्वीकार नहुने पनि सूचनामार्फत जानकारी गराइएको छ ।

काठमाडौं महानगरपालिकाले न्यायिक समितिको निर्णय कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई समयमै सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।