२९ आश्विन २०८३, बिहिबार

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले एमाले स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासनको सवालमा दृढ प्रतिबद्ध रहेको बताएका छन् ।

प्रेस चौतारी नेपालले आज आयोजना गरेको ‘उम्मेदवारसँग पत्रकार सम्मेलन’मा बोल्दै उनले एमालेको आगामी घोषणापत्रमा पनि यी मूल विषयहरू प्राथमिकताका साथ समेटिने स्पष्ट पारेका हुन् । “नेकपा एमाले स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासनको सवालमा प्रतिबद्ध छ,” उनले भने, “एमालेको घोषणापत्रमा पनि यिनै कुरा आउनेछन् ।”

नेता पोखरेलले वर्तमान व्यवस्थासँग गाँसिएका केही पक्षमा सुधार आवश्यक रहेको उल्लेख गर्दै संविधान संशोधनमार्फत ती विषयहरूलाई परिमार्जन गर्दै अघि बढ्ने धारणा व्यक्त गरे । उनका अनुसार शासकीय स्वरूप, निर्वाचन प्रणाली, सेवा प्रवाहलगायतका क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । “कतिपय सवालमा सुधार गर्नुपर्ने छ, त्यसमा हामी लाग्छौँ,” उनले भने ।

यस पटक एमालेको घोषणापत्र अघिल्लाभन्दा पृथक हुने उल्लेख गर्दै उनले पार्टी निश्चित मुद्दामा समय तालिकासहित प्रस्तुत हुने जानकारी दिए ।“यस पटकको एमालेको घोषणापत्र पृथक हुनेछ,” उनले भने, “हामी निश्चित मुद्दामा समय तालिकासहित प्रस्तुत हुन्छौँ ।”

नेता पोखरेलले आगामी निर्वाचनमा एमालेले राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्दै जनतासमक्ष त्यसलाई प्रमाणित गरेर देखाउने दाबी गरेका छन् । “निर्वाचनमा यस पटक हामी राम्रो परिणाम ल्याउँछौँ र तपाईँहरूलाई सुनाउँछौँ,” उनले भने ।

एमालेलाई कमजोर पार्न विभिन्न प्रकारका षड्यन्त्र हुँदै आएको आरोप लगाउँदै उनले बाहिरी षड्यन्त्रलाई चिर्न पार्टी भित्री रूपमा बलियो हुनुपर्ने आवश्यकता औँल्याए । “एमालेलाई सिद्ध्याउन हरेक खालका षड्यन्त्र हुने गरेका छन्,” उनले भने, “बाहिरी षड्यन्त्रलाई चिर्न भित्री रूपमा बलियो हुनुपर्छ ।”

नेता पोखरेलले एमाले मजबुत भएर अगाडि बढ्ने र कुनै पनि षड्यन्त्र सफल हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।