काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजिब वाजिदले यही फेब्रुअरी १२ मा हुन लागेको आमनिर्वाचनमा धाँधलीको आशंका व्यक्त गरेका छन् ।
अमेरिकामा बसोबास गर्दै आएका वाजिदले सोमबार साँझ भारतको कोलकातामा आयोजित एक कार्यक्रममा भिडियो कन्फरेन्सिङमार्फत सम्बोधन गरेका थिए । त्यसक्रममा उनले निर्वाचनमा अवामी लिगलाई व्यावहारिक रूपमा बाहिर राखिएको जिकिर गरे ।
उनका अनुसार, यो निर्वाचन दुई दलबीचको लडाइँ हुनुपर्नेमा सबै प्रगतिशील शक्तिलाई दबाइएको छ । सोही कारण यसलाई वास्तविक निर्वाचन मान्न नसकिने उनले बताए ।
बंगलादेशको निर्वाचनपछि जमात–ए–इस्लामीले खुला छुट पाउने र त्यसले आतंकवादलाई प्रश्रय दिँदै भारतका निम्ति सुरक्षा खतरा पैदा गर्ने उनले टिप्पणी गरे । उनले बंगलादेशमा पाकिस्तानको प्रभाव बढ्ने र त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी समेत दिए ।
वर्तमान शासन व्यवस्थाले ल्याएको ‘पोस्टल भोटिङ’को आलोचना गर्दै उनले भने, “हामीले पहिले कहिल्यै यसो गरेका थिएनौँ, किनकि यसलाई प्रमाणीकरण गर्न गाह्रो हुन्छ । सामान्य ब्यालेटमा हुने गडबडी सजिलै देखिन्छ, तर पोस्टल ब्यालेटमा केही देखिँदैन । र, निर्वाचन आयोगले दिएको तथ्यांकमा मात्र भर पर्नुपर्ने हुन्छ ।”
अन्तर्राष्ट्रिय समुदायलाई यो निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष नमान्न अपिल गर्दै वाजिदले भने, “समयमै यसको निन्दा गरिएन भने देशले एउटा कठपुतली सरकार पाउनेछ ।”
अवामी लिगको भविष्यबारे उनले पार्टीको करिब ४० प्रतिशत ‘भोट बैंक’ सुरक्षित रहेको र आफ्नो अडान नछाड्ने बताए । यद्यपि, एकातिर विदेशी शक्ति र अर्कोतिर सरिया कानुन लाद्न खोज्ने इस्लामवादीका बीचमा देशको अवस्था कस्तो होला भन्नेमा उनले चिन्ता व्यक्त गरे ।
उनले जमात–ए–इस्लामी र इस्लामिक आतंककारीलाई देश चलाउनबाट रोक्ने यो अन्तिम मौका भएको बताए ।















प्रतिक्रिया