३० आश्विन २०८३, शुक्रबार

दाङको समृद्धिका लागि दीर्घकालीन एजेण्डासहित महासचिव पोखरेल चुनावी मैदानमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । नेकपा (एमाले)का महासचिव तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनका लागि दाङको समग्र विकासलाई केन्द्रमा राख्दै आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।

दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने बाचा पूरा गरेको स्मरण गराउँदै पोखरेलले आफू संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गर्दै दाङको पूर्वाधार विकासको आधार तयार गर्न भूमिका खेलेको उल्लेख गरेका छन् ।

पोखरेलले पानीमुनीको पुल भएको जिल्लाको पहिचान बदल्ने कामदेखि प्रमुख अस्पतालहरूलाई रिफर सेन्टरबाट विशेषज्ञ सेवा दिने स्तरसम्म पुर्‍याउन सहजीकरण गरेको उल्लेख गरे । साथै, उच्च प्राविधिक शिक्षाको आधारशीला तयार गर्न र राजनीतिमा इमान्दार तथा स्वच्छ छविका रूपमा आफूलाई स्थापित गर्न सफल भएको उनको भनाइ छ ।

पोखरेलले अवसर पाउँदा दाङबासीको गौरव बढाउने काम गरेको र पराजय व्यहोर्दा पनि जिल्लाको सेवामा निरन्तर समर्पित रहेको उल्लेख गर्दै अब राष्ट्रको नेतृत्वकारी भूमिकामा दाङलाई पुर्‍याउने समय आएको बताए । उनले दाङमा सुरु भएका महत्वपूर्ण योजनाहरू पूरा गर्ने र नयाँ योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै ‘अब ज्ञापनपत्र बोकेर हिँड्ने होइन, बुझ्ने, निर्णय गर्ने र कार्यान्वयन गर्ने दाङ बनाउने’ संकल्प व्यक्त गरे ।

प्रमुख प्रतिबद्धताहरू

पोखरेलले सार्वजनिक गरेको एजेण्डामा लमही–घोराही–तुल्सीपुर फोरलेन सडक निर्माण सम्पन्न गर्ने, ३५० बिघा क्षेत्रफलको घोराही औद्योगिक क्षेत्र निर्माण गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ४०० बेडको नयाँ अस्पताल भवन निर्माण गर्ने विषय समेटिएको छ ।

त्यसैगरी, मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार निर्माण, त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रादेशिक इन्जिनियरिङ कलेज सञ्चालन, गुहारखोला हाइड्याम तथा नहर प्रणाली विकास, तुल्सीपुर विमानस्थल विस्तार गरी ७२ सिटे जहाज उडान–अवतरण योग्य बनाउने योजना पनि उहाँका प्राथमिकतामा छन् ।

ग्रामीण सडक कालोपत्रे, शहरी क्षेत्रमा व्यवस्थित फुटपाथ निर्माण, सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्वास्थ्य बीमाको दायरा विस्तार, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, युवाका लागि बिनाधितो सहुलियत ऋण, नयाँ लगानीकर्तालाई आयकर छुट तथा सिचाइ सुविधा विस्तार गर्ने योजना पनि प्रतिबद्धतामा समावेश गरिएको छ ।

यसैगरी, घोराही–वंगलाचुली खानी क्षेत्र जाने सडक ढलान गर्ने, प्रदेश राजधानीको गुरु योजना कार्यान्वयन गर्ने र केन्द्रीय घोषणापत्रका प्रतिबद्धता पूरा गर्न नेतृत्वकारी भूमिका खेल्ने पोखरेलको भनाइ छ ।

पोखरेलले दाङको विकास र दाङबासीको सम्मानलाई मूल मन्त्र बनाउँदै सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन् ।