काठमाडौं । नेपाली कांग्रेसले सुशासन, विकास र भविष्यकेन्द्रित यथार्थवादी तथा विश्वसनीय कार्यक्रम राखेर घोषणापत्र बनाउने बताएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले मंगलबार (माघ १३) पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनले घोषणामा मात्रै सीमित हुने घोषणापत्र नबनाउने बताए ।
केही समयभित्र पार्टीको घोषणापत्र सार्वजनिक गर्ने तयारी रहेको उनले बताए । नेपालमा कामभन्दा कुरा धेरै गर्ने प्रवृति रहेको भन्दै चालिसेले कांग्रेसले गर्न सक्ने काम मात्रै घोषणापत्रमा समेट्ने जानकारी दिए ।
“घोषणापत्रमा विशेष गरी सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी र विश्वसनीय कार्यक्रम । घोषणाको लागि घोषणा होइन कि विश्वसनीय यथार्थवादी कार्यक्रममा हामीले सार्वजानिक गर्नेछौँ,“ चालिसेले भने, “किनकि कुरा धेरै गर्ने, काम कम हुने नेपालको राजनीतिमा त्यो चलन चलेको हुनाले जति सकिन्छ, त्यति हामी गर्छौं र बोलेको कुरा पूरा गर्छौं ।“
निर्वाचन क्षेत्रको आवश्यकताका आधारमा उमेदवारहरूले पनि आफ्नो घोषणापत्र बनाउने चालिसेको भनाइ छ । उनले एकजुट भएर निर्वाचनमा लाग्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।
“पूर्ण एकता छ कांग्रेस पार्टीमा । एक भएर, एकढिक्का भएर हामीले आफ्नो उमेदवारलाई विजयी बनाएर नेपाली कांग्रेसको सरकार बनाउने उदेश्यका साथ अगाडि बढेका छौँ,“ उनले भने ।
चालिसेले देशभरका १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरू रहेको बताए । विद्रोह गरेका केही उमेदवारले मनोनयन फिर्ता लिइसकेका र केही स्थानमा निष्क्रिय बनाएर आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पहल भइरहेको उनको भनाइ छ ।
“हामीले चुनावमा जनतामा आशा जगाउँनुछ, स्रोतको उपायहरूको पनि खोजी गर्नुछ । सबै कुरा हामीले घोषणापत्रमा समावेश गर्नेछौँ,“ उनले भने ।













प्रतिक्रिया