११ कार्तिक २०८३, बुधबार

उदयपुर–२ मा एमालेको शक्ति प्रदर्शनसहित अम्बर रायमाझीको मनोनयन दर्ता

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । नाराजुलुस, बाजागाजा र कार्यकर्ताको उत्साहपूर्ण उपस्थितिबीच नेकपा (एमाले)का नेता अम्बरबहादुर रायमाझीले उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रायमाझीले कटारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् ।

पार्टी झण्डा, नाराबाजी र बाजागाजासहितको जुलुससहित निर्वाचन कार्यालय पुगेका रायमाझीलाई एमाले नेता–कार्यकर्ता र समर्थकहरूले भव्य स्वागत गरेका थिए । उनको प्रस्तावकमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय कमिटीका संयोजक गजेन्द्रबहादुर खड्का रहेका छन् भने समर्थकमा कोशी प्रदेश कमिटी सदस्य गोपालबहादुर खत्री छन् ।

प्रदेश कमिटीको सचिवालय सदस्य समेत रहेका रायमाझी यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीबीच बनेको गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडालाई पराजित गर्दै विजयी भएका नेता हुन् । छोटो कार्यकालमै विकासका ठोस काम अघि बढाएको दाबी गर्ने रायमाझी पुनः अधुरो यात्रालाई पूर्णता दिन चुनावी मैदानमा उत्रिएका छन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै रायमाझीले भने, “उदयपुर क्षेत्र नं. २ विकासको हिसाबले अझै पछाडि परेको क्षेत्र हो । ३० महिनाको कार्यकालमा धेरै काम अघि बढाएँ, तर तयार पारेको विकास रोडम्याप अझै अधुरो छ । जनतासँग गरेका वाचा पूरा गर्नकै लागि पार्टीले फेरि मलाई उम्मेदवार बनाएको हो ।”

उनका अनुसार क्षेत्र नं. २ को विकासको मेरुदण्ड भनेकै सिरहाको मिर्चैया–कटारी–घुर्मी पक्की सडकदेखि खोटाङको हलेसीसम्म जोड्ने मुर्कुची–माझखर्क–कुनौली सडक हो ।

“यी मुख्य सडकसँगै थुप्रै भित्री सडकहरूमा बजेट विनियोजन भइसकेको छ, कतिपयमा ठेक्का प्रक्रिया अघि बढिसकेको छ,” उनले भने, “शिक्षा, स्वास्थ्य, कृषि, उद्यम र रोजगारीका क्षेत्रमा पनि उल्लेखनीय काम हुँदै गर्दा बीचमै कार्यकाल टुंगिन पुग्यो ।”

रायमाझीले पाँचवटै स्थानीय तहका ४४ वटै वडा कार्यालय पुग्ने सडक, स्वास्थ्यचौकी, विद्यालय तथा विद्युतीकरणका काम सम्पन्न भइसकेको दाबी गरे ।

“खानेपानीका योजनाहरू पनि छिटफुट बाहेक सम्पन्न भएका छन्,” उनले थपे, “अबको प्राथमिकता भनेको पक्की सडक, कृषि उत्पादन, स्वास्थ्य सेवा सुदृढीकरण र रोजगारी सिर्जनासहितको स्पष्ट रोडम्याप कार्यान्वयन हो ।”

एमाले संगठनको बलियो अवस्था, इमान्दार र सक्रिय कार्यकर्ता, अधुरो कार्यकाल, स्पष्ट विकास योजना र विगतका उपलब्धि नै आफ्नो जितको आधार रहेको रायमाझीको भनाइ छ ।

“२०७९ मा गठबन्धनलाई सजिलै पराजित गरियो,” उनले आत्मविश्वासका साथ भने, “यसपटक त काम र भिजनकै आधारमा जनताले फेरि जित दिलाउने विश्वास छ ।”

उदयपुर क्षेत्र नं. २ मा यसरी एमालेले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गराएसँगै चुनावी माहोल थप तातेको छ भने रायमाझीको ‘अधुरो रोडम्याप पूरा गर्ने’ नाराले मतदाताको ध्यान तानेको देखिन्छ ।