काठमाडौं । नेकपा (एमाले)का नेता विष्णु रिमालले आसन्न आम निर्वाचनलाई पार्टीका लागि निर्णायक लडाइँको संज्ञा दिँदै टिकटको विषयभन्दा माथि उठेर एकताबद्ध हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता रिमालले आम निर्वाचनमा पार्टीले संगठित रूपमा चुनाव लड्नु पर्ने उल्लेख गरेका छन् । ‘हामी पार्टीका नेता–कार्यकर्ता पार्टीलाई जिताउन दिलोज्यानले सक्रिय हुन्छौँ– कोही उम्मेदवारको रूपमा, कोही परिचालक र प्रचारकको रूपमा,’ उनले लेखेका छन्, ‘जुनसुकै हैसियतमा सक्रिय भए पनि हाम्रो भूमिका एउटै हो ।’ उनले पार्टीभित्र एक लयमा अघि नबढ्दा न उम्मेदवारले जित्ने अवस्था रहने न त संगठनले जस पाउने स्पष्ट पारेका छन् । ‘हामी एकताबद्ध हुन सकेनौँ भने न ‘लड्ने’ले जित्छ, न ‘लडाउने’ले नै श्रेय पाउँछ,’ उनको भनाइ छ ।
नेता रिमालले टिकट वितरणको विषयलाई अहिलेका लागि थाती राख्नुपर्ने धारणा राख्दै यसपटक अवसर नपाएकाले आगामी निर्वाचनमा पाउने उल्लेख गरेका छन् । ‘यसपालि नपाउनेले अर्को पालि पाउँछ,’ उनले लेखेका छन्, ‘यतिखेर धेरै कुरा मिलाउन बाँकी छन् र हामीमाथि घेराबन्दी तथा आक्रमण तीव्र छ ।’ एमाले निर्णायक राष्ट्रिय शक्ति नबन्दासम्म देश रूपान्तरणका बाँकी कार्यहरू पूरा नहुने उल्लेख गर्दै उनले यो निर्वाचनलाई केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा नभई वैचारिक जनमत संग्रहका रूपमा व्याख्या गरेका छन् । ‘यो चुनाव ‘जलाउने’ र ‘जोगाउने’, ‘भत्काउने’ र ‘बनाउने’ बीचको जनमत संग्रह पनि हो,’ उनले भनेका छन् ।
नेता रिमालले आम निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउन सबै पंक्ति एकजुट हुनुपर्नेमा जोड दिँदै उम्मेदवार चयनमा परेका एमालेका सबै उम्मेदवारहरूलाई जितको शुभकामना व्यक्त गरेका छन् ।















प्रतिक्रिया