काठमाडौं । अमेरिकास्थित वासिंटनमा जी–७ र अन्य प्रमुख अर्थतन्त्रका अर्थमन्त्रीबीच चीनबाट आयात हुने ‘रेयर अर्थ’ (दुर्लभ खनिज)माथिको निर्भरता कम गर्ने उपायबारे छलफल भएको छ ।
छलफलमा मूल्यको न्यूनतम सीमा तोक्ने र वैकल्पिक आपूर्ति प्रणाली निर्माणका लागि नयाँ साझेदारी गर्नेजस्ता विषय समावेश भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टद्वारा आयोजित यस बैठकमा जापान, बेलायत, फ्रान्स, जर्मनी, इटाली, क्यानडा र अमेरिकाजस्ता जी–७ सदस्य राष्ट्र सहभागी भएका थिए । साथै, अस्ट्रेलिया, मेक्सिको, दक्षिण कोरिया र भारतका अधिकारीहरूको पनि सहभागिता रहेको बताइएको छ ।
बैठकमा जापानका अर्थमन्त्री सात्सुकी कातायामाले चीनमाथिको निर्भरता द्रुत गतिमा घटाउने विषयमा सहभागी राष्ट्रहरूबीच व्यापक सहमति बनेको जानकारी दिए ।
यसबाहेक श्रम मापदण्ड र मानव अधिकारमा आधारित बजार निर्माण गर्ने, सार्वजनिक वित्तीय संस्थाबाट सहयोग जुटाउने, कर प्रोत्साहन, व्यापारिक उपाय र न्यूनतम मूल्य निर्धारणजस्ता कदमका लागि सुझाव दिइएको बताइएको छ ।
जर्मनीका अर्थमन्त्री लार्स क्लिंगबाइलले युरोप आफैँ सक्रिय भएर कच्चा पदार्थको आपूर्ति बढाउनुपर्ने र रिसाइक्लिङमा जोड दिनुपर्ने बताए । उनले यो पहल ‘चीन–विरोधी गठबन्धन’ मात्र नभई युरोपको आफ्नै रणनीतिक आवश्यकता हुनुपर्नेमा जोड दिएका थिए ।
यद्यपि, मूल्य निर्धारण र नयाँ साझेदारीका विषयमा छलफल भए पनि धेरै मुद्दाहरू अझै टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।















प्रतिक्रिया