काठमाडौं । भारतको लोकसभामा प्रमुख विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई कानून कहिले सबैका लागि समान हुन्छ भन्दै प्रश्न गरेका छन् । उत्तराखण्डमा अंकिता भण्डारीको निर्मम हत्या प्रकरणमा आएको नयाँ तथ्यले सम्पूर्ण देशबासीलाई स्तब्ध बनाएको गान्धीले बताए ।
‘उत्तराखण्डमा अंकिता भण्डारीको निर्मम हत्याले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनायो – तर प्रश्न बाँकी छ ? कुन भाजपा भीआईपीलाई शक्तिको संरक्षणमा राखिएको छ ? कानून कहिले सबैका लागि समान हुनेछ ?’ गान्धीले फेसबुकमा लेखेका छन् । साथै, उनले यो घटना देशबासीले देखेको र कसरी शक्तिको घमण्डका कारण अपराधीहरू बचिरहेको बताएका छन् ।
१९ वर्षीया रिसोर्ट रिसेप्सनिस्ट अंकिता भण्डारीको २०२२ मा निर्मम हत्या भएको थियो । उक्त रिसोर्ट भाजपा नेता विनोद आर्यका छोरा पुलकितले चलाएका थिए ।
अंकिताको शव पछि बरामद भएको थियो । अदालतले पुलकित आर्य र अन्य दुई जनालाई हत्याको अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो ।
तर हालै यस घटनासँग सम्बन्धित अडियो/भिडियो सार्वजनिक भएपछि यसमा भाजपाका वरिष्ठ नेता तथा राष्ट्रिय महासचिव दुष्यन्त कुमार गौतम जोडिएको भन्दै भारतीय कांग्रेस, आम आदमी पार्टीका नेताहरुले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिरहेका थिए ।
यसैबीच, दिल्ली उच्च अदालतले भण्डारी मुद्दामा ७ जनवरीमा कांग्रेस, आम आदमी पार्टी लगायतलाई २४ घण्टा भित्र गौतमसँग सम्बन्धित सामाजिक सञ्जालका पोस्टहरू हटाउन आदेश दिएको थियो । अदालतले यस विषयमा कुनै पनि सामग्री पोस्ट नगर्न पनि आदेश दिएको थियो । अदालतले आरोपहरू पहिलो नजरमा मानहानिपूर्ण भएको र यदि सामग्री नहटाइएमा गौतमको प्रतिष्ठामा आँच आउने पनि बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।








प्रतिक्रिया