२९ आश्विन २०८३, बिहिबार

डिसहोमगो ओटीटी एपमा नेपाली धारावाहिक ‘घर‘ एक सपना’ शुक्रबारदेखि प्रशारण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली दर्शकका लागि निरन्तर मौलिक तथा गुणस्तरीय सामग्री प्रस्तुत गर्दै आएको डिसहोमगो ओटीटी एपले नेपाली धारावाहिक ‘घर‘ एक सपना’ शुक्रबारदेखि आफ्नै माध्यममार्फत प्रशारणमा ल्याउने भएको छ।

वरिष्ठ कलाकार सरोज खनाल, लक्ष्मी गिरी, विश्व बस्नेतलगायतको सशक्त अभिनय रहेको उक्त धारावाहिक अब डिसहोमगो ओटीटी एपमा हेर्न सकिनेछ। आयुषा पोखरेलको प्रस्तुति रहेको ‘घर‘ एक सपना’ ले नेपाली परिवारभित्र देखिने बिखरिँदो सम्बन्ध, दायित्व, लोभ र सपनाबीचको द्वन्द्वलाई मार्मिक र यथार्थपरक रूपमा चित्रण गरेको छ।

कथाले पात्रहरूलाई जीवनका कठिन मोडहरू पार गर्दै घर, परिवार र सम्बन्धको वास्तविक मूल्य बुझ्ने भावनात्मक यात्रामा अग्रसर गराउँछ। लेखक तथा निर्देशक अजित लामिछानेको निर्देशनमा निर्माण गरिएको यस धारावाहिकमा नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रका अनुभवी र लोकप्रिय कलाकारहरूको अभिनयले विशेष आकर्षण थपेको छ।

धारावाहिकमा विश्व बस्नेतसँगै सुरेश थापा, सृजना अधिकारी, विप्लव लोहनी, पुष्पाञ्जली लिम्बु र सुनील तामाङको समेत अभिनय रहेको छ। पारिवारिक सम्बन्धको गहिराइ, भावनात्मक उतारचढाव तथा सामाजिक यथार्थलाई केन्द्रमा राखी धारावाहिकलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ।

डिसहोमगो ओटीटी एप नेपालकै अग्रणी डिजिटल मनोरञ्जन माध्यमका रूपमा परिचित छ। यस माध्यममार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुद, चलचित्र, धारावाहिक, विविध मनोरञ्जन सामग्री तथा प्रत्यक्ष टेलिभिजन कार्यक्रम सहज रूपमा उपलब्ध छन्। डिसहोमले गुणस्तरीय, नवीन र मौलिक नेपाली सामग्रीमार्फत दर्शकलाई समृद्ध डिजिटल मनोरञ्जनको अनुभव प्रदान गर्दै आएको छ।