काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ । ६ बुँदे सहमति गर्दै दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।
सहमति पत्रमा प्रलोपाबाट निर्वाचन परिचालन तथा वार्ता संवाद समिति संयोजक जनार्दन शर्मा र क्रान्तिकारी शक्ति पुनर्गठन अभियानको तर्फबाट संयोजक दलसिंह खत्री मिसनले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा जेन्जी जनआन्दोलनको अपनत्व लिई सम्पूर्ण सहिद तथा घाइते परिवारको मागहरू सम्बोधन गर्न पहल गर्ने, सुशासन र सामाजिक न्यायका पक्षमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता सहित राज्यका अङ्गहरू (व्यवस्थापिका कार्यपालिका र न्यायपालिका) मा समेत पुनर्संरचना गर्न पहल गर्ने सहमति भएको छ ।
यस्तै, दुई पार्टीबीच एकता गर्दा सचिवालयदेखि सम्पूर्ण तहमा सम्मानजनक प्रतिनिधित्व हुने गरी साङ्गठनिक एकता गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधित्व हुने गरी उम्मेदवार तय गर्ने, प्रगतिशील लोकतान्त्रिक पार्टीको सिद्धान्त नेतृत्व र चुनाव चिन्ह एकल खुलेको आँखामा गोलबद्ध भई सुशासन र लोकतन्त्र र परिवर्तनका पक्षमा एकताबद्ध हुन आह्वान गर्ने सहमति भएको छ ।







प्रतिक्रिया