काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची र पार्टीले अघि सारेको ‘प्राइमरी इलेक्सन’को नतिजाबीच ठूलो अन्तर देखिएको छ। प्राइमरीमा लोकप्रिय मत पाएका धेरै उम्मेदवारहरू अन्तिम बन्दसूचीमा पछाडि परेका छन् भने केही त सूचीकै बाहिर परेका छन्।
रास्वपाले उम्मेदवार छनोटमा प्राइमरी इलेक्सनको अभ्यास गरे पनि त्यसको मतभार ५० प्रतिशत मात्रै राखिएको छ। बाँकी ५० प्रतिशत निर्णय पार्टी नेतृत्वले गर्ने व्यवस्थाका कारण सभापति रवि लामिछानेको विवेक, बालेन साहको टोली र ‘उज्यालो नेपाल’सँगको सहमतिले सूचीको प्राथमिकता क्रमले व्यापक रूपमा फेरिएको छ।
यसै कारण खस आर्य, आदिवासी जनजाति र दलिततर्फ प्राइमरीमा शीर्ष स्थान ल्याएकाहरू या त तल धकेलिएका छन् वा बन्दसूचीमै अटाउन सकेनन्। केही समूहमा भने प्राइमरीमा कम मत पाएकाहरू नेतृत्वको कोटाबाट माथिल्लो स्थानमा पुगेका छन्।
रास्वपामा प्राइमरीतर्फ सबैभन्दा बढी मत ल्याएका रमेश प्रसाईंबन्द सूचीमा खस आर्यतर्फ ५ औं स्थानमा झरेका छन् । पहिलो नम्बरमा रास्वपाका सहमहान्त्री विपिन आचार्यको नाम छ । यस्तै, बालेनको कोटाबाट सचिन ढकाल र सुदिप ढकाल क्रमशः दोस्रो र तेस्रो छन् । सचिन ढकाल व्यवसायी चन्द्र ढकालका छोरा हुन् ।
खस आर्य पुरुषमा दोस्रो सर्वाधिक मत ल्याएका प्रमोद न्यौपाने सूचीमा चौंथो छन् । उनीपछि रमेश प्रसाईंको नाम छ । कुलमान घिसिङको कोटाबाट अनुप उपाध्याय (तत्कालीन उज्यालो नेपालका अध्यक्ष) छैटौं स्थानमा रहेका छन् ।
खस आर्य महिलातर्फ सबैभन्दा बढी मत रञ्जु दर्शनाले ल्याएकी थिइन् । तर, बन्द सूचीमा उनी निकै पछाडि परेकी छन् । उनलाई १० औं स्थानमा राखिएको छ । पहिलो नम्बरमा प्रतिभा रावल छिन् । उनी रास्वपाकी सहप्रवक्ता हुन् । प्राइमरी इलेक्सनमा उनी खस आर्य महिलातर्फ नवौं स्थानमा थिइन् ।
खस आर्य महिलातर्फ दोस्रो नम्बरमा बालेनको कोटाबाट विदुषी राणा परेकी छन् । उनी गोल्स्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक हुन् । तेस्रोमा रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारी रहेकी छन् । प्राइमरी इलेक्सनमा उनी पाचौं स्थानमा थिइन् । प्राइमरीमा महिलातर्फ दोस्रो रहेकी टिका संग्रौला (ज्वाला) बन्दसूचीमा छैटौंमा झरेकी छन् । विवेकशील साझाबाट आएकी समिक्षा बास्कोटालाई पाँचौ स्थानमा राखिएको छ ।
रास्वपाको प्राइमरी इलेक्सनमा आदिवासी जनजातितर्फ सर्वाधिक भोट ल्याएको उत्तमबहादुर गुरुङ बन्दसूचीमै अटाएनन् । अपवादका रूपमा मधेसी महिलातर्फ पुनम अग्रवाल मात्र प्राइमरी र बन्दसूची दुवैमा पहिलो स्थानमा रहन सफल भएकी छन्।
यस घटनाले रास्वपाको ‘प्राइमरी इलेक्सन’ अभ्यासमाथि प्रश्न उठाएको छ भने पार्टीभित्र निर्णय प्रक्रिया कति स्वतन्त्र छ भन्ने बहस पनि चर्किएको छ।








प्रतिक्रिया