काठमाडौं । नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँटसम्बन्धी निर्देशिकाहरूमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरी कम्पनीले सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले सेयर निष्कासन कार्यका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको नोबेल कलेजले आफ्नो जारी पूँजीको करिब २८.५७ प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक निष्कासन गर्नेछ भने संस्थापक समूहअन्तर्गत करिब ७१.४३ प्रतिशत सेयर कायम रहने कम्पनीले जनाएको छ ।
फ्रन्टलाइन ब्राण्डको नामबाट काठमाडौंको पुरानो बानेश्वरमा सञ्चालित अस्पतालको हालको क्षमता १०० शैया रहेको छ भने यो अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । थप सेवा विस्तारको लागि निर्माणको चरणमा रहेको थप २०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइने अस्पतालका लागि थप पूँजीको आवश्यकता पर्ने भएकाले कम्पनीले सार्वजनिक निष्कासनमा जान लागेको कम्पनीका अध्यक्ष नवराज पाण्डेले जानकारी गराए ।
अस्पतालले हाल स्नातक तहका विद्यार्थीहरुलाई लक्षित गरी नर्सिङ तथा फार्मेसी लगायतका शैक्षिक गतिविधिहरु पनि सञ्चालन गर्दै आइरहेको कम्पनीले जनाएको छ ।
चिकित्सा सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको नोबेल कलेजको स्थापना वि.सं. २०६२।०९।१९ मा भएको थियो र हाल यसको वार्षिक कारोबार ५० करोडभन्दा माथि रहेको कम्पनीले जनाएको छ । साथै, हाल यस संस्थामा २०० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेको कम्पनीले जनाएको छ ।
आज भएको सम्झौतामा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशनको तर्फबाट कम्पनीका अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेष्टमेण्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।















प्रतिक्रिया