३१ जेष्ठ २०८३, आइतबार

मुलुक निर्वाचनतर्फ अघि बढ्यो : सञ्चारमन्त्री खरेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् । आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा निर्वाचनमा जाने सहमति भएको बताए ।

उनले भने, ‘पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ, मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ । सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा होमिएका छन्, समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउँदैछन्, मुलुक निर्वाचनमा अगाडि बढीसकेको छ ।’ उनले नयाँ दलहरूबीच भएको एकता र सहकार्यले पनि निर्वाचनको माहोल सिर्जना गरेको बताए । मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढ्ने बताए ।

उनले भने, ‘नयाँ पुस्ताले उठाएको माग बमोजिम निर्वाचनपछि बन्ने सरकारले मुलुकलाई अगाडि बढाउनेछ, जेनजी आन्दोलनको मर्म र भावना अनुसार सुशासन कायम हुनेछ, भ्रष्टाचार अन्त्य हुनेछ ।’

यस्तै, उनले मिडियाको विषयवस्तु बलियो हुनुपर्ने, प्रस्तुतिमा सिर्जनात्मक, प्रविधिमैत्रीका साथै समाचारको सहज पहुँच हुनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।