काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको समूहबीच शनिबार हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ । शुक्रबार अबेरसम्म भएको दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव राखेपछि सहमति जुट्न नसकेको बताइएको छ ।
स्रोतका अनुसार शुक्रबारको बैठकमा रास्वपाको सभापति रवि लामिछानेलाई नेतृत्व दिने र भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई प्रस्ताव गर्ने विषयमा मोटामोटी सहमति भए पनि केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारी छनोटमा आधा–आधा हिस्सा दाबी गरिएपछि त्यसमा सहमत हुन नसकेको हो ।
वार्तामा सहमति हुन नसकेपछि बालेनले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग छलफल गरी पुनः वार्तामा बस्ने भनिएको थियो ।
शनिबार बिहान कुलमान र बालेन समूहबीच छलफल भए पनि त्यहाँबाट पनि कुनै ठोस प्रस्ताव बाहिर आएको छैन ।
रास्वपा पक्षले शनिबार बालेनसँग पुनः छलफल हुने सम्भावना न्यून रहेको जनाएको छ । ‘आज कुनै समूहसँग छलफल भएको छैन, रवि र बालेनबीच पनि भेट हुने सम्भावना छैन,’ स्रोतले भन्यो ।
समानुपातिक बन्द सूची बुझाउने समय भोलिसम्म रहेकाले तत्काल हतारिनुपर्ने अवस्था नरहेको स्रोतको भनाइ छ ।
यता, बालेन पक्ष भने कुलमान घिसिङको प्रतीक्षामा रहेको र रेशम चौधरी तथा सीके राउतलाई समेत समेट्नुपर्ने प्रस्ताव राख्दै आएको छ । मंगलबार रातिदेखि दुवै पक्षका नेताहरूबीच निरन्तर छलफल भए पनि हालसम्म कुनै ठोस निष्कर्ष निस्किन सकेको छैन ।















प्रतिक्रिया