काठमाडौं । नेकपा (एमाले)ले ११ औं राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक पार्टीको सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार समानुपातिक उम्मेदवारहरूको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डासहित भोलि बैठक बोलाइएको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
एमालेका एक पदाधिकारीका अनुसार बैठकमा कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति तथा आज प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलका विषयमा अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराउने कार्यसूची पनि रहेको छ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलि पुस १३ गते समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको छ ।
जिल्ला र प्रदेशबाट समानुपातिकतर्फका आकांक्षीहरूको नाम संकलन गरी पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेताहरूले ती नामहरूको छोटो सूची तयार गरेका छन् ।
भोलिको बैठकमा विभिन्न नेताहरूले दिएका सुझावका आधारमा समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली टुंग्याएर सोही दिन निर्वाचन आयोगमा बुझाउने तयारी रहेको छ ।















प्रतिक्रिया