१० श्रावण २०८३, आइतबार

मलेसियाका पूर्वप्रधानमन्त्री पद दुरुपयोग र सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजीब रजाकलाई वान एमडीबी भ्रष्टाचार प्रकरणमा पद दुरुपयोगको मामिलामा दोषी ठहर गरिएको छ । साथै, उनलाई मनी लउन्ड्रिङ (सम्पत्ति शुद्धिकरण) सम्बन्धी २१ आरोपमा पनि दोषी घोषित गरिएको छ । वान एमडीबी कोषसँग सम्बन्धित एउटा छुट्टै मुद्दामा उनी पहिल्यै जेल सजाय काटिरहेका छन् ।

नजीब सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री थिए । सन् २०२० मा उनलाई पद दुरुपयोगसहित विभिन्न मुद्दामा १२ वर्षको जेल सजाय सुनाइएको थियो । पछि जेल अवधि घटाएर ६ वर्ष बनाइएको थियो । नयाँ दोष सिद्धिपछि सजाय अवधि बढ्ने सम्भावना रहेको छ ।

उच्च अदालतले ७२ वर्षीय नजीबलाई पद दुरुपयोगसँग सम्बन्धित चार आरोप तथा वान एमडीबी कोषबाट आफ्नो निजी बैंक खातामा ७० करोड डलरभन्दा बढी रकम जम्मा गराएको विषयमा मनी लउन्ड्रिङसम्बन्धी २१ आरोपमा दोषी ठहर गरेको हो ।

नजीबले भ्रष्टाचारका आरोपहरू अस्वीकार गर्दै आएका छन् । उनका अनुसार उक्त कोष साउदी अरेबियाबाट प्राप्त राजनीतिक दान थियो र व्यापारी लो ताएक जोको नेतृत्वमा रहेका वित्तीय व्यक्तिहरूले उनलाई गुमराह पारेका थिए । तर, न्यायाधीशले यो तर्कलाई अविश्वसनीय ठहर गरेका छन् ।

न्यायाधीशले प्रमाणहरूले कोष वान एमडीबीबाटै निस्किएको स्पष्ट देखाएको बताएका छन् । उनले नजीबलाई वान एमडीबीका पूर्वअधिकारीहरू र लो ताएक जोले ठगेका थिए भन्ने बचाउ पक्षको दाबी पनि अस्वीकार गरे ।

यसको विपरीत, न्यायाधीशले साक्षीहरूको बयानले नजीब र लोबीच अटुट सम्बन्ध रहेको देखाएको र घोटालामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने लोले वान एमडीबीमा नजीबका लागि प्रोक्सी, वाहक, मध्यस्थ तथा काम सहज बनाउने भूमिका खेलेको उल्लेख गरेका छन् ।

फैसलाअनुसार, विशाल रकम आफ्नो खातामा कहाँबाट आयो भन्नेबारे जाँच गर्न आवश्यक कदम चाल्न नजीब असफल भएका थिए । उनले न त लोविरुद्ध कुनै कारबाही गरे, न त शंकास्पद स्रोत हुँदाहुँदै पनि रकम प्रयोग गरेको स्वीकार गरे । बरु, त्यसको विपरीत, मुद्दा अनुसन्धान गरिरहेका तत्कालीन एन्टि–करप्सन प्रमुख र महान्यायाधिवक्तालाई हटाएर आफ्नो पद सुरक्षित राख्ने प्रयास गरेको आरोप लगाइएको छ ।