१२ श्रावण २०८३, मंगलबार

एपस्टिन प्रकरण : १० लाखभन्दा बढी दस्तावेज बरामद, अब के हुन्छ ?

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाठौं । अमेरिकी न्याय विभागले बुधबार जेफ्री एपस्टिन मुद्दासँग सम्बन्धित १० लाखभन्दा बढी अतिरिक्त दस्तावेज बरामद गरेको छ ।

विभागले यी दस्तावेज आगामी हप्ताहरूमा जारी गरिने जनाएको छ । न्युयोर्कको दक्षिणी जिल्लाका अमेरिकी महान्यायधिवक्ता र एफबीआईले जेफ्री एपस्टिन मुद्दासँग सम्भावित रूपमा सम्बन्धित १० लाखभन्दा बढी दस्तावेज प्राप्त भएको न्याय विभागलाई सूचित गरेका छन् ।

विभागलाई यी दस्तावेज दक्षिणी न्युयोर्क र एफबीआईबाट एपस्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट, विद्यमान कानुन र न्यायिक आदेशको पालना गर्दै समीक्षा र जारी गर्न प्राप्त भएका हुन् ।

पीडितको सुरक्षाका लागि कानुनी रूपमा आवश्यक संशोधन गर्न र समीक्षा गर्न २४ घण्टा काम गरिरहेको र दस्तावेजलाई जतिसक्दो चाँडो जारी गरिने बताइएको छ । धेरे फाइल भएका कारण यो प्रक्रियामा केही हप्ता थप लाग्न सक्ने बताइएको छ ।

न्याय विभागले एपस्टिनसँग सम्बन्धित थप ३० हजार पृष्ठका दस्तावेज जारी गर्नुका साथै यसमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध झुटा दाबी समावेश भएको पनि उल्लेख गरेको छ ।

एक पोस्टमा न्याय विभागले डोनाल्ड ट्रम्पविरुद्धका यी दस्तावेज झुटा भएका र तिनलाई उनीविरुद्ध हतियारको रूपमा प्रयोग गरिन सक्ने दाबी गरेको छ ।

विभागका अनुसार यीमध्ये केही दस्तावेजमा राष्ट्रपति ट्रम्पविरुद्ध झुटा र सनसनीपूर्ण दाबी समावेश रहेका छन्, जुन २०२० को चुनावभन्दा ठीक अघि एफबीआईलाई बुझाइएको थियो ।

यी दाबी आधारहीन र झुटा भएको र यिनमा अलिकति पनि सत्यता भएको भए ती पहिल्यै नै राष्ट्रपति ट्रम्पविरुद्ध प्रयोग गरिसकिएको हुने बताएको छ ।

तैपनि, विभागले एपस्टिन पीडितका लागि कानुनी रूपमा आवश्यक सुरक्षा उपायसँगै यी दस्तावेज जारी गरिरहेको छ ।

ट्रम्पले स्थापना गरेको मार–ए–लागो क्लबलाई सन् २०२१ मा जारी गरिएको एक सोधपुछ पनि यसमा समावेश छ । सीएनएनको रिपोर्टका अनुसार, सन् १९९५ मा दर्ता गरिएका दस्तावेज पनि यिनमा समावेश छन् ।

यो सोधपुछ एपस्टिनकी पूर्वप्रेमिका र दोषी सहयोगी घिस्लेन म्याक्सवेलको अनुसन्धानसँग सम्बन्धित छ । दस्तावेजमा एपस्टिनले हस्ताक्षर गरेको एक पत्र पनि समावेश छ, जुन एपस्टिनको आत्महत्याको महिना (२०१९) मा दोषी यौन अपराधी ल्यारी नासरलाई पठाइएको थियो ।

सीएनएनको रिपोर्टका अनुसार, पत्रमा ट्रम्पको नाम नलिई उनीबारे उल्लेख गरिएको छ । पत्रमा हाम्रा राष्ट्रपति वाक्यांश प्रयोग गरिएको छ ।

यद्यपि, न्याय विभागले संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले पत्र नक्कली पुष्टि गरेको छ । न्याय विभागले बताएअनुसार पत्रमा लेखिएका कुरा एपस्टिनको हस्तलेखनसँग मेल खाँदैनन् । र, पत्रमा उनको मृत्युको तीन दिनपछिको मिति टाँसिएको छ ।

अमेरिकाले गत महिना एपस्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट पारित गरेको थियो । त्यसपछि न्याय विभागले यौन अपराधीका रूपमा आरोपित एपस्टिनसँग सम्बन्धित दस्तावेज जारी गरेको छ ।