१० श्रावण २०८३, आइतबार

जकार्तास्थित ड्रोन कम्पनीको कार्यालयमा आगलागी, २२ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्डोनेसिया । इन्डोनेसियाको राजधानी जकार्तास्थित एक कार्यालय भवनमा आगलागी हुँदा एक गर्भवती महिलासहित कम्तीमा २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

साततले भवनमा आगो लागेर आकाशमा धुवाँको कालो मुस्लो उड्दा नजिकैका बासिन्दा र मध्य जकार्ताको केमायोरान छिमेकमा काम गर्ने कामदारमा त्रास फैलिएको थियो ।

सेन्ट्रल जकार्ताका प्रहरी प्रमुख सुसाट्यो पूर्णोमो कोन्ड्रोका अनुसार, मध्याह्नतिर लागेको आगो भवनको पहिलो तल्लाबाट शुरू भएर अन्य तल्लाहरूमा फैलिएको अनुमान गरिएको छ । आगो नियन्त्रण गर्न सयौँ कर्मचारी र २९ वटा दमकल खटाइएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रहरी प्रमुख कोन्ड्रोले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेअनुसार, भवन ड्रोन कम्पनीको बिक्री र भण्डारण कार्यालयका रूपमा प्रयोग गरिएको थियो । धेरै कामदार खाजा खानका लागि बाहिर रहेका बेला भण्डारण र परीक्षण क्षेत्रमा ब्याट्री स्पार्किंग शुरू भएको थियो ।

तीन घण्टाको संघर्षपूर्ण प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । भवनबाट सात पुरुष र एक गर्भवती महिलासहित १५ महिला गरी कम्तीमा २२ जनाको शव निकालिएको थियो। शव पहिचानका लागि पूर्वी जकार्ताको प्रहरी अस्पतालमा लगिएको उनले बताए ।

एक जीवित व्यक्ति दिमित्रीले स्थानीय टेलिभिजनलाई बताएअनुसार, ड्रोन ब्याट्रीमा सर्ट सर्किट वा थर्मल फेलियरका कारण विस्फोट र आगलागी भएको आशंक गरिएको छ । “माथिल्लो तलामा रहेका केही सहकर्मीहरूले मद्दतका लागि बोलाउँदै छततिरबाट भाग्ने प्रयास गरे,” उनले भने ।

टेलिभिजन रिपोर्टहरूमा अग्नि नियन्त्रकहरूले विस्तार गरेको आपत्कालीन भ¥याङ प्रयोग गरेर छैटौँ तलाबाट धेरै महिलासहित एक दर्जनभन्दा बढी फसेका कामदारको उद्धार गरेको देखाइएको थियो । प्रत्येक व्यक्तिलाई भवनबाट एक–एक गरी तल झार्नुपरेको थियो । धेरैले आफ्नो पालो पर्खँदा बाक्लो धुवाँका कारण सास फेर्न संघर्ष गरिरहेका देखिन्थ्यो ।

निर्माण, खानी, तेल र ग्यास, ऊर्जा, वृक्षारोपण र शहरी योजनाजस्ता विभिन्न औद्योगिक क्षेत्रहरूका लागि मानवरहित हवाई सवारी प्रविधि प्रदान गर्ने कम्पनी पीटी टेरा ड्रोन इन्डोनेसियाद्वारा भाडामा लिइएको भवननजिकै तथा घटनास्थल नजिकैको अस्पताल भवनमा परिवारजनहरू घटनाबारे जान्न उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका थिए । एपी