१३ कार्तिक २०८३, शुक्रबार

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज बिर्तामोडको आयोजनामा आज झापाको सुरुङ्गामा आयोजित ‘सङ्कटपछि देशको अर्थतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले सुरक्षालगायत कारणले निर्धारित समयमा निर्वाचन हुनेमा शङ्कासमेत रहेको बताए ।

सभामुख घिमिरेले मुलुकमा राजस्व सङ्कलन कमजोर हुँदा सामान्य खर्च धान्न पनि सरकारले ऋण लिनुपर्ने अवस्था आएको भन्दै यस्तो बेला निजीक्षेत्रलाई विश्वासमा लिनसक्नुपर्ने धारणा राखे ।

“मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजीक्षेत्र लगानी गर्न हिचकिचाइरहेको समय छ । सुरक्षाका कारण मनोबल कमजोर भएको छ, त्यसैले निजीक्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन लाग्नुपर्छ” उनले भने ।

वीरता जेसिजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा लिड नेपालका प्रधान सम्पादक राजेन्द्र बानियाँले सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नबिल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवाली, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, वीरता जेसिजका सङ्घसंस्था समन्वय संयोजक भूपेन्द्र भण्डारी, कोषाध्यक्ष लोकचन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीलगायतले मुलुकको पछिल्लो आर्थिक अवस्थाका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।