काठमाडौं, १४ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसीपको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग तीन रनले पराजित भएको छ ।
स्कटल्यान्डस्थित एलोबेमा वर्षाका कारण ३६ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले २३६ रनको लक्ष्य पाएको थियो । धेरैजसो खेलमा नेपालको ब्याटिङ् पक्ष फितलो रहँदै आए पनि गएरातिको खेलमा नेपाली खेलाडीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाललाई जित दिलाउन भने सकेनन् ।
अनिल मण्डलको शतकीय पारी र कप्तान पारस खड्काको ७० रनका बाबजुद नेपालले अन्तिम दुई ओभरमा २५ रन बनाउन नसक्दा महत्वपूर्ण दुई अङ्क बटुल्नबाट चुक्यो ।
स्कटल्याण्डसँग तीन रनले पराजित भएपछि नेपालका कप्तान पारस खड्काले उत्साहजनक प्रतिक्रिया दिएका छन् । ‘हामीले पहिला भन्दा राम्रो खेलेका छौं, लक्ष्य पूरा गर्न सकेनौं त्यसमा दुःखी छौं, तर अर्काे खेलमा अझै राम्रो प्रदर्शन गर्नेछौं ।’ आइसिसीसँग उनले भने ।
युरोपको हावापानी र वातावरण घुलमिल भएका कारण स्टकल्याण्डविरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको उनको भनाई थियो । ‘हावापानी र वातावरणसँग घुलमिल भइसकेका छौं, अबको खेलमा नेपालको प्रदर्शन विस्तारै सुधार हुँदैछ । अर्काे खेल नेपालकै पक्षमा हुनेछ ।’
उनले स्कटल्याण्डसँग हार्नको कारण ठूलो स्कोर दिनु भएको बताए । ‘हामीले विपक्षी टिमलाई २०० रनमै प्याक गर्नुपथ्र्याे तर सकेनौं । जसकारण हामी लक्ष्यसम्म पुग्न असफल भयौं ।’ उनले आयरल्याण्डभन्दा स्कटल्याण्डमा नेपाली टिमले उत्कृष्ठ प्रदर्शन गरेको बताए ।
नेपालले स्कटल्याण्डसँगको दोस्रो खेल शुक्रबार खेल्दैछ ।















प्रतिक्रिया