२९ आश्विन २०८३, बिहिबार

देश टुक्राउन खोज्ने भारतीय दलाल हुन्, सच्चा मधेशी हैनन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayan-paswan

सबैभन्दा पहिलो कुरा सकारात्मक सोच हो । सकारात्मक सोच ले नै मानवीय जीवनमा ठूलो परिबर्तन ल्याउन सक्छ । जुन सोचले समाज र सिंगो राष्ट्रकोे बिकास र समृद्धिमा आमुल परिबर्तन ल्याउन सक्छ । तसर्थ राष्ट्र, राष्ट्रियताको सन्र्दभमा हामीले सँधै सकारात्मक सोच र चिन्तन राख्न जरुरी छ ।

कुनै पनि राष्ट्रको नागरिक हुनुको पहिलो दायित्व भनेको राष्ट्र र राष्ट्रियताप्रति स्वाभिमानी हुनु हो, बफादार हुनु हो । राष्ट्र, राष्ट्रियता र अखण्डताप्रति इमान्दारिताका साथ सर्मपित हुनु नै एउटा असलनागरिकको मूलधर्म हो । राष्ट्र, राष्ट्रियता र मातृभूमिको अखण्डतामा कसैसँग सम्झौता नगर्नु नै देशका लागि उच्च योगदान हो । राष्ट्रियताको रक्षाकालागि प्रत्येक नागरिकमा हुनु पर्ने कर्तव्य परायणताबाट पछाडि नहटनु नै देश प्रतिको सच्चा माया र प्रेम हो । २१ औं शताब्दीको यो युगमा बिश्वका कयौं मुलुकहरु फराकिलो सोचका साथ आर्थिक समृद्धिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । त्यसको ठीकविपरित हामी नेपालीहरु भने झन् झन् साँघुरो घेरामा रहेर संकिर्ण सोच राख्दैछौं र देशलाई अध्यारोतर्फ धेकलिरहेका छौं । अझै भनौं, देशको बिकास गर्छु भन्दै राष्ट्रभक्तिका खोक्रा नारा लगाउनेहरु मुलुकको आर्थिक बिकास र समृद्धिमा ध्यान दिनुको साटो नानाथरि कुराहरु गर्दै एक आपसमा लडिरहेका छन् । कि, देशको अस्तित्व नै संकटमा पार्ने हर्कत गर्दैछन् । नयाँ नेपाल निर्माणको नाममा नेपालआमालाई लुछाचुँडी गर्दै तहसनहस पार्ने कुचेष्टा गरिरहेका छन् । कुनै पनि व्यक्तिको पहिलो परिचय भनेकै उसको राष्ट्र हो, राष्ट्रियता हो । राष्ट्र नै नरहे कहाँ रहन सक्छ राष्ट्रियता ? नेपालै नरहे हाम्रो अस्तित्व रहन्छ के ? हाम्रो परिचय के ?

मधेशी समुदायको नाममा आफ्नो स्वार्थ लुट्नेहरुप्रति हामी सबै सचेत हुन जरुरी छ । यर्थाथमा भन्नुपर्दा एक मधेश एक प्रदेशको माग गर्ने खासमा यी भनेका भारतीय दलाल हुन् ।

पछिल्लो समय राज्य पुर्नरसंरचनाका नाममा मधेश केन्द्रीत केही राजनीतिक दल तथा केही व्यक्तिहरुले आफ्नो स्वार्थ परिपूर्तिका लागि एक मधेश एक प्रदेशको माग गर्दै आएका छन् । वास्तवमा आत्मसाक्षी राखेर भन्ने हो भने एक मधेस प्रदेशको मुद्दा मधेसको नाममा राजनीति गरेर फाइदा लुट्न खोज्नेहरूले उठाएका हुन् । उनीहरूले तराईका जनताको अधिकार सुरक्षित गर्न, विकास निर्माणको अवसर जनतालाई दिन र राज्यको तह सम्म पुर्याउनका लागि यो मुद्धा उठाएको होइन । मधेशी समुदायको हकअधिकारका लागि नभएर ब्यक्तिगत स्वार्थ र आ–आफ्नो राजनीतिक फाइदाका लागि मात्र उचालिएको मुद्धा हो ।

मधेसी नेता भनाउँदाहरु, जो मधेशलाई पुर्खौली सम्पत्ति ठान्नेहरु, मधेसी जनताप्रति के उत्तरदायित्वबहन गर्न सकेका छन् ? केबल आफ्ना स्वार्थसिद्धका सपना देखेर मधेशका जनताको सोझोपनको फाइदा उठाउँदै आएका छन् । आममधेसी जनतालाई भ्रममा पारेर आन्दोलनमा उतारेका हुन् । त्यसकारण यस्तो भ्रमका बिरुद्धमा जनचेतना बढाउन जरुरी छ । आममधेशी समुदायलाई सुसूचित गराउनु पर्दछ । किन चाहियो एक मधेश एक प्रदेश ? यसको फाइदा के ? के एक मधेश एक प्रदेश हुँदैमा मधेशीजनताको समस्या समाधान हुन्छ त ? के मधेशी जनताले साँच्चिकै मुक्ति पाउँछन् त ? के मधेशी समुदाय अधिकार सम्पन्न हुन्छन् त ?

अहिले पनि पहाडको तुलनामा मधेशमा भ्रष्टाचार ब्याप्त छ, चोरी, डकैती र अपराधका घटना उस्तै छन्, त्यसलाई रोक्न के छुट्टै मधेश चाहिन्छ ? के एक मधेश एक प्रदेश हुँदैमा मधेशी समुदायमा ब्याप्त रहेको गरिबी, अशिक्षा, बेरोजगारी तुरुन्तै समाधान हुन्छ त ? के लिंगीय विभेद, जातीय विभेद, बर्गीय विभेद जस्ता विभेदको अन्त्यका लागि एक मधेश एक प्रदेश नै हुनुपर्छ र ? यस्ता तमाम सामजिक विभेदहरु मधेशमा मात्रै छन् र के हिमाल, पहाडमा छैनन् ?

सन् १९५० को सन्धि, जसले नेपालीको अधिकारलाई खुम्चाइएको छ, सिमानाका नजिक बस्ने नेपालीहरु असुरक्षित छन्, दिनरात त्रासमा दैनिकी गुजारी रहेका छन्, खोइ ती सिमानाकामा बस्ने नेपालीहरुको मुद्दा कसले उठाएको छ ? तिनीहरुलाई सुरक्षित राख्न र सिमाना मिचिरहँदा खोइ यी मधेशी नेताका आवाज ? कुन मधेशी नेताले उठाएको छ ? नेपाली भूमि अतिक्रमण हुँदा होस् या नेपालीमाथि भारतीय एसएसबीबाट ज्यादती हुँदा होस्, यसको बिरुद्धमा मधेशी नेता हुँ भन्ने ले आजसम्म कहिल्यै कुनै आवाज उठाएको छ ? यी र यस्ता तमाम प्रश्नहरु मधेशी समुदायको मुक्तिका लागि आवाज उठाएका छौं भन्ने मधेशी नेताहरुतर्फ तेर्सिएका छन् ।

नेपाली अस्मितामाथि ठाडो हस्तक्षेप हुँदा अनि दैनिकजसो सिमामिचिँदा समेत मुकदर्शक बनेर टुलुटुलु हेरेर बस्ने यी मधेशी नेताहरुले कुन समुदायको मुक्तिको कुरा गर्दै छन् ? अनि मधेशप्रतिको मोह अनि राष्ट्रभक्तिका ठूला कुरा गरेर सदियौँदेखि मिलेर बसेका नेपालीहरुबीच द्वन्द्व बढाउने खेल कसको इशारामा खेल्दै छन् ? मधेशी समुदायको नाममा आफ्नो स्वार्थ लुट्नेहरुप्रति हामी सबै सचेत हुन जरुरी छ । यर्थाथमा भन्नुपर्दा एक मधेश एक प्रदेशको माग गर्ने खासमा यी भनेका भारतीय दलाल हुन् ।

स्वभाविक हो कि, मधेशी समुदाय माथि राज्यले एक खालको थिचोमिचो गरेकै हो । मधेशीमाथि बिभेद गरेकै हो, तर यसको समाधान एक मधेश कदापी हुन सक्दैन । हिमाल, पहाड र तराई नेपालको साझा फूलबारी हो, यसमा सबै नेपालीको समानअधिकार छ ।

नेपाली नागरिकताको प्रमाणपत्रबाट कुन नेपाली बन्चित छ? नेपाली नागरिक जतिपनि तराईमा छन् ती सबैले निसकोंच नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । त्यसको बाज्द पनि बिरोधको लागि बिरोध गरेका छन् । घुसपैठियाहरु ल्याएर हाम्रो देशलाई तहसनहस गर्न आतुर छन् यी मधेशी नेताका नाममा कहलिएका ब्वासाहरु । तसर्थ, यस्ता दलालहरुसँग सर्तक रहनु जरुरी छ अन्यथा नेपाल आमालाई छिन्नभिन्न पार्न लागि परेका बिखण्डनकारीहरुले जस्तोसुकै हर्कत नगर्लान् भन्न सकिन्न । नेपाली नेपालीबीच द्वन्द्वको बिउ रोप्ने यस्ता पक्षपातीहरुलाई कडा दन्डको ब्यबस्था गरिनु पर्छ ।

अर्को तर्फ कटु सत्य यो पनि छ । जस्को फाइदा उठाएर मधेसीलाई भड्काउन सफल हुँदै आएका त्यस्ता प्रबृत्तिलाई सुधार गर्नै पर्दछ । राज्यले भारतीय मूलुक दार्र्जी्लिङ, सिक्किमबाट आउनेहरुप्रति खाट्टी नेपाली (पहिलो दर्जाको ) सरह व्यबहार गर्ने गरेको छ तर तराईबाट आएकाहरुलाई दोश्रो दर्जाको नागरिक सरह व्यबहार गर्ने गरेको छ । आखिर किन यस्तो बिभेद हुने गरेको छ मधेशी समुदायमाथि ? यस्ता कमीकमजोरीहरु पनि राज्य पक्षबाट सुधार हुन जरुरी छ । मधेशी समुदायलाई राज्यले राख्ने हेय दृष्टिलाई सुधार गरेर नेपालीपनको नजरबाट हेरिनुपर्दछ । अब बन्ने नयाँ संबिधानमा मधेशी समुदायले पनि मुलुकप्रति अपनत्वको भावना महसुस गर्ने गरि संबिधान जारी गरिनुपर्दछ । अन्यथा मधेशी समुदायमाथि हुँदै आएको भेदभाव र असमानतालाई फेरि पनि राज्यले सम्बोध नगर्न नसके मधेशी समुदायमाथि ठूलो अन्याय ह्ुनेछ । भाषा, भूगोल र जातीयताको आधारमा गरिने यि र यस्ता खालका भेदभावमा परिवर्तन गर्ने हो भने यी स्वार्थी मसिहा मधेशी नेता भनाउँदाहरुको फुस्रा कुरा कसैले पनि सुन्नेवाला छैन् ।
बिगतदेखि नै हुँदै आएको मधेशी समुदायप्रतिको भेदभावको अन्त्य गरि राज्यको हरेक तह र तप्कामा मधेशी समुदायको प्रतिनिधित्व हुने गरी अब बन्ने नयाँ संविधानमा ती हक अधिकारहरु सुनिश्चत गरिनुपर्दछ ।

यस्तै सदियौँदेखि हिन्दु राष्ट्र कायम रहँदै आएको नेपाललाई बिदेशीको इशारामा धर्म निरपेक्षता कायम गर्ने भनिएको छ । ८१ प्रतिशत बढी हिन्दु धर्मालम्बीहरु बसोबास गर्ने नेपाललाई नेपाली जनताको भावनाबिपरीत धर्मनिरपेक्षता कायम गर्न खोज्नु सरासर गलत कुरा हो । सनातन हिन्दु धर्म संसारकै बिशिष्ट धर्म हो । सबै धर्मलाई सम्मानगर्ने गरि नेपाल हिन्दु राज्य नै हुनुपर्छ । हिजो हिन्दु राष्ट्र कायम भएकै बखत नेपालमा भएका अन्यधर्महरुः बौद्ध, ईसाई, ईस्लामप्रति कुनै भेदभाव नभएको कुरा सर्वबिदितै छ । हिन्दु धर्मालम्बीहरुको बाहुल्यता रहेको नेपालमा विगतमा कहिल्यै पनि अन्य धर्मप्रति घृणा गर्ने, बहिस्कार गर्ने र अन्य धर्म मान्न बन्देज गरिएको थिएन । हिन्दु राष्ट्र भएपनि सबै धर्मप्रति सम्मान थियो, धार्मिक स्वतन्त्रताथियो । तसर्थ सबै धर्मको सम्मान गर्ने गरि बहुसंख्यक हिन्दुहरुको भावनालाई आन्मसात् गर्दै अब बन्ने नयाँ संबिधानमा नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुमै बुद्धिमता देखिन्छ । अन्यथा, नेपालमा धार्मिक द्वन्द्व बढ्ने खतरा देखिन्छ ।

हाम्रो समाजमा केही क्षुद्र मनस्थितिका, सांघुरो सोच भएकाहरुलाई हेरेर अडकलकै भरमा बाहुन, क्षेत्रीलगायतका समुदायलाई गाली गर्नु पनि न्यायोचित देखिँदैन । ब्रह्म्हचर्य भन्नू नै लोक कल्याणको लागि गर्ने साधना हो, यसलाई केहि पाखन्डीहरुले आफ्नो अनुकुल ब्याख्या र सो अनुरुप लागू गर्दै जाने प्रबृत्तिले पनि मान्छे मान्छे मा भेदभाव भै बितृष्णा पैदा भएको हो ।

त्यसैले धर्म कुनै एकल समुदायको पेवा होइन । धार्मिक सहिशुणताका लागि संबिधानमै प्रष्ट र कडा कानुनको ब्यस्था गरिनुपर्छ । भन्नूको अर्थ, फुटेर होइन जुटेर सम्पूर्ण नेपालीहरुएक भएर राष्ट्र निर्माणमा लाग्नु आजकोे आवश्यकता हो । तसर्थ मातृभूमिप्रति समर्पित भएर सबै नेपालीले आ–आफ्नो तह र तप्काबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरि देश निर्माणमा लाग्नुपर्छ भन्ने मेरो ब्यक्तिगत बुझाइ र धारणा हो ।

लेखक गैरआवासीय नेपाली संघ, साउदी अरबका अध्यक्ष हुन् ।