– विश्वास खड्काथोकी
काठमाडौं, १४ साउन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी जागिरवालाले ग्रीनकार्ड र जागिरमध्ये एउटा रोज्नुपर्ने नीति पारित गरेपछि धेरै सरकारी जागिरेहरुको ग्रीनकार्ड रहस्य खुलासा हुँदै आएको छ । ग्रीनकार्ड लिने र सरकारी जागिर खाने लाइनमा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा पनि परेका छन् ।
बास्कोटा अहिले नेपाल सरकारको सम्मानित पद नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपतिमा छन् । उपकुलपति बास्कोटासँग अमेरिकाको ग्रीनकार्ड रहेको उनी निकट स्रोतले दैनिक नेपाललाई बतायो ।
यसो त शम्भुजित बास्कोटा संगीत क्षेत्रको चर्चित नाम हो । उनी बिगत चारदशकदेखि संगीत क्षेत्रमा क्रियाशिल छन् । कुनै बेला उनको संगीत नभएको फिल्म भेटाउन पनि गाह्रो पर्दथ्यो । उनै बास्कोटाले ०६२/६३ को जनआन्दोलनपछि अमेरिकाको ग्रीनकार्ड लिएको स्रोतले बतायो । ‘शम्भूजितको ग्रीनकार्ड म स्वयंमले देखेको छु’, उनी निकट स्रोतले भन्यो । सम्भूजीत ६,६ महिनामा ग्रीनकार्ड नविकरण गर्नको लागि अमेरिका गैराख्ने पनि स्रोतले जानकारी दियो । उनले नेपाल बाहिरका प्राय देश जाँदा अमेरिकाकै भिसाकार्ड प्रयोग गर्दै आइरहेका छन् ।
शाहीकालमा राजावादीको ट्याग लागेका उपकुलपति बास्कोटाले ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा प्रज्ञा भवनमा अधिकृत स्तरको जागिर खाएका थिए । पूर्व राजा ज्ञानेन्द्रको वहिर्गमनसँगै उनले ग्रीनकार्ड लिएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘नेपालमा असुरक्षित महसुस गरेर शम्भुजीतले ग्रीनकार्ड लिएका थिए । त्यतिबेला उनको अमेरिका आउजाउ चर्को थियो ।’ अहिले उनै बास्कोटा संगीत नाट्य प्रतिष्ठानको उपकुलपति पदसम्म पुगेका छन् ।
उनले ग्रीनकार्ड लिएको कुरा अहिलेसम्म बाहिर आउन सकेको छैन । अब उनले उपकुपलपति पद छोड्छन् वा ग्रीनकार्ड त्याग्छन्, त्यो भने हेर्न बाँकी नै छ ।
















प्रतिक्रिया