२९ आश्विन २०८३, बिहिबार

आदर्शको म्युजिक भिडियो ‘आउँछ्यौ तिमी नजरमा’ सार्वजनिक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १४ मंसिर । गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘आउँछ्यौ तिमी नजरमा’ बोलको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरिएको छ ।

गीतकार प्रतिष्ठान र रूपा वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले भिडियो सार्वजनिक गरेका हुन् । आफ्नै गीतमा आफैँलाई स्वागत गर्दा पनि गीतकारका रूपमा मानिसहरूले आफूलाई नचिन्ने अवस्था आएको अनुभव सुनाउँदै ढकालले गीतकार गीतको जननी भएर पनि छायामा पर्नु दुःखद् भएको विचार राखे । एउटा सुन्दर गीत बन्नका लागि गीतकारदेखि सुरु भएर सम्पूर्ण निर्माण पक्षसम्मको भूमिका रहने भन्दै उनले सबैको भूमिकाको कदर गर्नुपर्नेमा जोड दिए । आदर्शको गीतकारिताबाट आफू प्रभावित भएको ढकालले सुनाए ।

गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार आदर्श पोखरेलले ‘आउँछ्यौ तिमी नजरमा’ गीत लेखनदेखि भिडियो निर्माणसम्मको अनुभव सुनाएका थिए ।

‘जितमा पनि हारमा झैँ पिट्दै छन् रे ताली’ बोलको पहिलो गीत एक दशकअघि रेकर्ड गराएका पोखरेलका करिब १ दर्जन गीत रेकर्ड भएका छन् ।

गीतमा सन्तोष विक र मनिषा राईको स्वर रहेको छ भने सङ्गीत आदर्श पोखरेलकै रहेको छ । भिडियोमा स्वस्तिका श्रेष्ठ, जीवन सुनार, भुवन विक, जमुना पौडेल बराललगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन राम बाँस्तोलाले गरेका हुन् ।

कार्यक्रममा गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, गायक विनोद बानिया, पोखरा विश्व विद्यालयका अधिकृत नारायण सापकोटा लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।