
काठमाडौं, १४ मंसिर । नेकपा (एमाले)भित्र ‘दलितको भोट चल्दैन’ भन्ने प्रकारका भ्रामक टिप्पणी र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको भन्दै पार्टी नेतृत्वले त्यसको तथ्य स्पष्ट पारेको छ । महाधिवेशन प्रतिनिधि छनोटमा दलित सदस्यहरूको मतदान अधिकार सीमित भएको जस्तो प्रचार भए पनि वास्तविकता भने त्यसको ठिक विपरीत रहेको एमाले महासचिव शंकर पोखरेलले स्पष्ट पारेका छन् ।
पार्टीमा महाधिवेशनका दौरान दलित र गैरदलित दुवै सदस्यहरू एउटै क्लस्टरमा बसेर भोट हाल्न पाउने व्यवस्था कायम रहेको महासचिव पोखरेलले बताए ।
‘एमालेमा दलितको भोट चल्दैन भन्ने भ्रामक प्रचार गर्न खोजिँदैछ, यथार्थ के हो भने– महाधिवेशनमा दलित र गैरदलित दुवै सदस्यले एउटै क्लस्टरमा रहेर भोट हाल्न समेत पाउँछन्, उनीहरूलाई त्यहाँ चुन्न र चुनिने दुवै अधिकार सुरक्षित छ’ उनले भने ।
यद्यपि दलित समावेशी क्लस्टरमा प्रवेश गर्ने प्रतिनिधिहरूले भने दलित समूहका लागि निर्धारण गरिएको कोटामा मात्र भोट हाल्ने व्यवस्था पुरानो समावेशी सिद्धान्तअनुसार निरन्तरता पाइरहेको पोखरेलले प्रष्ट पारे । यो अभ्यास पार्टीले समावेशिताको नीति लागू गर्न थालेदेखि नै रहेको उनको भनाइ छ ।
‘भविष्यमा सबैले सबैका लागि भोट हाल्ने गरी दलित समावेशिताको नयाँ व्यवस्था गरौँ भन्ने कुरामा पार्टीको असहमति रहनुपर्ने कुनै कारण छैन’, पोखरेलले स्पष्ट पारेका छन् ।








प्रतिक्रिया