
धनगढी, २९ कात्तिक । नेकपा (एमाले)का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले एमालेको नेतृत्व र विचार ठिक भएको बताएका छन् ।
शनिबार पार्टीले धनगढीमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै नेता भट्टले एमालेको नेतृत्व र विचार ठिक भएकाले एमालेभित्र डर र मनोबल घटाउन सबै मिलेर आक्रमण गरिरहेको बताए । उनले देश र संविधानको रक्षा गर्न एमाले मात्रै सक्षम भएको बताउँदै एमाले जिउँदै रहेकाले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि बलिदान गर्न तत्पर रहेको बताए ।
अहिलेको लडाई भनेको देशको स्वतन्त्रता राख्ने र पराधिन बनाउने बीचको भएको बताउँदै उनले भने, ‘एमालेसँग सही नेतृत्व र विचार छ ।’ एमाले खरानीबाट फेरि उठेर देशको नेतृत्व गर्न जनता माझ आइसकेको उनले बताए ।
नेता भट्टले एमालेका नेता तथा कार्यकर्ताको मनोबल गिराउन गत भदौ २४ गते पार्टी कार्यालयहरू र नेताका घरहरू छानीछानी जलाइएको बताए । उनले जेनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै यो आन्दोलनले व्यवस्थापिका, न्यायपालिका र मुलुकको इतिहासमा आगो लगाउने काम गरेको छ भने ।
शोकलाई शक्तिमा बदल्दै हामी जनताको माझमा आएका छौँ उनले भने– आज चुच्चे नक्सा कता हराएको छ ? के अडान लिनु एमाले अध्यक्ष केपी ओलीको कमजोरी हो भन्ने प्रश्न गरे ।
संविधानलाई धोति लगाउने काम अहिलेको सरकारले गरिरहेकोले प्रधानमन्त्री सुशीला कार्कीले संविधान नै नपढेको बताए ।
चैत २१ गते यो सरकारले चुनाव गर्न नसक्ने दाबी गर्दै भट्टले हतियार लुटिएको अवस्थामा, प्रहरीको मनोबल गिरेको अहिलेको अवस्थामा चुनाव हुन नसक्ने भएकाले विघटित संसद् पुनःस्थापित हुनुपर्ने एमालेको स्पष्ट माग र अडान रहेको बताए ।
वर्तमान देशको संकटको निकास एमालेको अगुवाइमा मात्र सम्भव रहेको बताउँदै भट्टले राजनीतिक दलका कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी काममा खटिन आह्वान गरे ।








प्रतिक्रिया