१० श्रावण २०८३, आइतबार

१० डिग्रीभन्दा तल झर्‍यो काठमाडौंको न्यूनतम तापक्रम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । पछिल्ला दिन देशभरको तापक्रम क्रमशः घट्दो क्रममा छ । काठमाडौं उपत्यकासहित देशैभरको तापक्रम घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार (कात्तिक २५) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस मापन गरिएको छ । यस वर्ष काठमाडौंको न्यूनतम तापक्रम १० डिग्रीभन्दा तल झरेको यो पहिलोपल्ट हो ।

महाशाखाका अनुसार, काठमाडौंको न्यूनतम तापक्रम हिजो १०.६, आइतबार (कात्तिक २३) ११.४ डिग्री थियो । मंगलबार आज बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –२.६ डिग्री छ । सोमबार र आइतबार जुम्लाको न्यूनतम तापक्रम समान –२.४ डिग्री मापन गरिएको थियो ।

यस दिन डडेलधुराको न्यूनतम तापक्रम ५.९, दिपायलको ८.६, ताप्लेजुङको ८.८, वीरेन्द्रनगरको १०.२, धनकुटाको १०.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । सन् १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

देशमा हाल मौसमसम्बन्धी कुनै चेतावनी जारी गरिएको छैन । यहाँ कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।