कतारमा तीन प्रकारका नेपाली कामदारहरु पुग्ने गरेको पाइन्छ । अर्धदक्ष, अदक्ष र दक्ष । जसमा पनि अर्धदक्ष कामदारहरु बढी छन् ।
नेपालीहरु थ्री डी (डर्टी, डेन्जर, डिफिकल्ट) कामकै लागि कतार पुग्ने हुन् । ९० प्रतिशत कामदारहरुले भवन निर्माणमै काम गरिरहेका हुन्छन् । बाँकी १० प्रतिशतले मात्र अकाउण्ट, सेल्सम्यान, नर्स लगायतका काम गरेको पाइन्छ ।
कतारमा अवसर
करिब पाँच लाख नेपाली कतारमा कार्यरत छन् । सबैभन्दा बढी भारतीय छन्, त्यसपछि नेपाली । एक हिसावले भन्नुपर्दा कतार नेपाली कामदारको लागि सुरक्षित गन्तव्य हो ।
कतारमा नेपाली डक्टर पनि छन्, ५ सयभन्दा बढी इन्जिनियरहरु छन् । ओभरसियर उत्तिकै । कतिपयले व्यवसाय गरेर बर्षमा करोडौँ कमाइरहेका छन् । पछिल्लो समय नर्सको लागि पनि राम्रो अवसर छ, कतारमा । आफूसँग दक्षता हुनुपर्यो, अवसरको समस्या छैन ।
त्यही भवन निर्माणको काममा पनि बलको मात्र होइन दिमागको पनि काम हुन्छ । यत्ति हो कामदारमा दक्षता हुनुपर्यो । निर्माणमा पलम्बर, कार्पेन्टर लगायतका थुप्रै कामहरु हुन्छन् ।
नेपालीहरुले किन दुःख पाउँछन् ?
दुःख पाउने र नपाउनेमा मानिसहरु कसरी कतार प्रस्थान गर्छ भन्नेमा भर पर्छ । अधिकांश अदक्ष कामदारहरु कतार पुगिरहेका हुन्छन् । मेनपावरका बिभिन्न प्रलोभनमा नेपालीहरु विदेश पुग्छन् । त्यहाँको न्यूनतम पारिश्रमिक १२ सय कतारी रियाल छ । नेपालीहरु त्यही सम्झेर कतार पुग्छन् । तर, खर्चबारे हेक्का राख्दैनन् । त्यसपछि स्वभाविक रुपमा दुःख पाउँछन् । त्यसको अपजस राज्यले पाउँछ । यसमा राज्यको पनि गल्ती छ । राज्यले दक्ष कामदारलाई मात्र बिदेश पठाउने गर्नुुपर्छ । राज्यले प्रभावकारी नीति बनाएर कार्यान्वयनमा लाग्न सकेको छैन । झारा टार्ने काम गरेको छ । कतारसँग बलियो ढंगले दोहोरो श्रम सम्झौता गर्नुपर्छ ।
कतारमा नेपालीलाई हेयको दृष्टिले हेरिन्छ । अधिकांश अदक्ष कामदार जाने भएपछि कम्पनीहरुले पनि जे गरे पनि हुन्छ भन्ने दृष्टिले हेर्छ । जति तलब दिए पनि हुन्छ भन्ने खालको मान्यता विकास भएको छ । देश नै कमजोर भएपछि, नागरिक बलियो हुने कुरा भएन । खासमा नेपाली कामदारहरु आफ्नै देशबाट हेपिएका छौँ ।
अर्को कुरा नेपालीले क्षमता भए पनि त्यसलाई प्रस्तुत गर्न सक्दैनन् । नेपालीको आत्मविश्वास एकदमै कमजोर छ । त्यसैकारण कतिपय दक्ष कामदारहरुले पनि उपयुक्त अवसर पाउन सकेका छैनन् । त्यही भारतीय नागरिकले आफूलाई खुलेर प्रस्तुत गरिरहेका छन् । उनीहरुले सूचना प्रविधिका कामदारहरु पठाउँछ । उनीहरुको अवस्था राम्रो छ ।
बढी मर्ने कारणहरु
कतारमा नेपाली कामदारहरुको बिभिन्न कारणले मृत्यु हुने गरेको छ । मृत्यु त अरु देशका नागरिकको पनि हुन्छ । तर नेपालीको संख्या बढी छ ।
केही कामदारहरु दिनभरी गर्मीमा काम गर्छन, अनि राती आएर सुन्छन् । तर, बिहान उठ्दैनन् । यसरी मृत्यु हुनेको संख्या ठूलो छ । त्यो बातावरणले होला । उनीहरु दिउँसो गर्मीमा काम गर्छन् र बेलुकी आएर एसीमा बस्छन् ।
सवारी दुर्घटनामा पनि धेरै मानिसको मृत्यु हुने गर्छ । कतार र नेपालको गाडी चल्ने नियम ठिक बिपरित छ ।
६० तलामाथि बसेर नेपालीहरु काम गरिरहेका हुन्छन् । तर, निकै कम मात्र सावधानी अपनाएका हुन्छन् । त्यहाँबाट खसेर पनि धेरैले ज्यान गुमाइरहेका हुन्छन् । नेपालीहरु निकै कम मात्रामा सेफ्टी प्रयोग गर्छन् । उनीहरुमा सुरक्षित हुने ज्ञान पनि कम हुन्छ ।
नेपाली कामदारका पीडा
नेपाली कामदार अलपत्र पर्ने संख्या अहिले कम छ । दुई वर्ष पहिले यो संख्या अत्याधिक थियो । तर, केही समयअघि दुतावासले नयाँ नीति लिएसँगै नेपाली कामदार अलपत्र पर्नेको संख्यामा कमी आएको छ ।
हामीसँग पनि विभिन्न खालका गुनासोहरु आइरहन्छन् । कर्मचारीले महिनौँसम्म तलव नपाएको, मरेको लास नेपाल पठाउन नसकेको, घर जान नसकेको लगायतका समस्या आउँछ । हामीलाई कुनै कानुनी प्रावधान त छैन तर, उनीहरुको समस्या समाधान गर्न पुलको काम गर्छौँ ।
कतिपयले ६, ७ महिनाको तलब नपाएको गुनासो पनि आउँछ । अहिले पनि धेरै त्यस्तो समस्यामा छन् । समस्या यस्तो छ कि, त्यो पैसा पाउन पनि ६ महिना, बर्षदिन मुद्दा लड्नुपर्ने हुन्छ । वकिललाई पैसा खुवाउनुपर्छ । पाउने पैसाभन्दा खर्च बढी हुन्छ ।
दुतवासले नेपाली कामदारको समस्यालाई थेग्न नसकेपछि अहिले नेपाली कामदार पुग्ने कम्पनीको अध्ययन गर्छ । र, भिसाको स्वीकृति दिने काम गर्छ । त्यसकारण त्यस्ता समस्याहरु तुलनात्मक रुपमा कम आउने गर्छन् ।
कमजोर दुतावास
दुतावासले कामै नगरेको भन्न त मिल्दैन । तर, गर्न पनि सकेको छैन । दुतावास आफै समस्यामा छ । बाउ नै गरिव छ भने छोराछोरीलाई कसरी लाउन, खान दिन्छ ? पाँच लाख नेपालीको समस्या हेर्न राज्यले त्यही अनुसारको कर्मचारी दरबन्दीको व्यवस्था गर्नुपथ्र्यो । चार, पाँच जना कर्मचारीले कसरी समस्या समाधान गर्न सक्छन् । पींडित कामदार दिनहुँ संयौँको संख्यामा दुतावास धाइरहेका हुन्छन् ।
पर्याप्त भवनको अभाव छ । त्यसकारण पनि जसरी व्यवस्थापन हुनुपर्ने हो, त्यसरी हुन सकेको छैन । अन्य देशको तुलनामा नेपाली दुतावासको प्रभाव न्यून छ । भारत वा फिलिपिन्सको नागरिकले दुःख पायो भने तत्काल रेस्क्यू गर्ने व्यवस्था छ ।
खुसीको कुरा अहिले दुतावासमा दोब्बर कर्मचारी बढाउने भनेर नेपाल सरकारको डेलिगेसन गएको थियो । हेरौँ कति समयपछि कार्यान्वयन हुन्छ ।
गैरे प्रवासी नेपाली मञ्च, कतारका अध्यक्ष हुन् ।














प्रतिक्रिया