१३ असार २०८३, शनिबार

भदौ २३ र २४ का घटना कुनै क्रान्ति थिएनन्, विनाशका लागि बनाइएको डिजाइन थियो : लेखराज भट्ट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २२ कात्तिक । नेकपा (एमाले)का सचिव लेखराज भट्टले भदौ २३ र २४ का घटनाहरूलाई आन्दोलन नभई योजनाबद्ध प्रतिक्रान्ति भनेका छन् । उनका अनुसार ती घटनाहरू देश विनाश गर्ने पूर्वनियोजित षड्यन्त्रअन्तर्गत गरिएका थिए ।

प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव भट्टले भने, ‘भदौ २३ र २४ का घटना कुनै क्रान्ति थिएनन्, ती विनाशका लागि बनाइएको डिजाइन थियो । देशलाई अस्थिर पार्ने, नेपाल जलाउने र अन्तर्राष्ट्रिय रूपमा बदनाम गराउने उद्देश्यले योजना बुनिएको देखियो ।’

उनले २४ गतेको आन्दोलनलाई ढाल बनाइ २३ गतेकै घटनालाई योजनाबद्ध रूपमा सञ्चालन गरिएको दाबी गरे । ‘२४ गतेको विनाश नपम्त्याउनकै लागि २३ को षड्यन्त्र गरियो,’ उनले भने, ‘यो कुनै स्वतःस्फूर्त आन्दोलन होइन, पुस्ताको नाममा गरिएको विध्वंस हो ।’

भट्टले जेनजी पुस्ताको नाममा हिंसा भड्काउने, स्कुल ड्रेसमा विद्यार्थीहरूलाई सडकमा उतार्ने र त्यसका पछाडि ठूला राजनीतिक स्वार्थ लुकेको आरोप लगाए । उनले भने, ‘जेनजी पुस्ताको माग सुशासन र भ्रष्टाचारविरुद्ध थियो, तर त्यसलाई गलत दिशामा मोडियो । विध्वंस र आगजनी आन्दोलन होइन ।’

एमाले सचिव भट्टले हालको सरकार संविधान विपरित रहेको दाबी गर्दै संसद पुनर्स्थापना आवश्यक भएको बताए । उनका अनुसार अहिलेको वातावरणमा चुनाव सम्भव छैन र देशलाई कमजोर पार्ने खेल जारी छ ।

उनले भने, ‘एमालेमाथि दशकौंदेखि प्रहार हुँदै आएको छ। कमजोर पार्न नसकेपछि हिंसा भड्काउने खेल भयो । तर एमाले सचेत छ, देश सकाउने योजना सफल हुन दिइने छैन ।’

भट्टले पार्टी अब ग्रामीण विकास, सुशासन र समृद्धिको एजेण्डा लिएर अघि बढ्ने बताए । उनले आयात घटाई निर्यात बढाउने, युवा उद्यम र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिनुपर्नेमा जोड दिए ।

प्रेस चौतारीका प्रदेश अध्यक्ष नरेन्द्र कार्कीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो । खुला संवादमा एमाले केन्द्रीय सदस्य नारदमुनी राना र प्रदेश अध्यक्ष कृष्णप्रसा जैशी पनि सहभागिए थिए ।