१६ असार २०८३, मंगलबार

मेयर साह र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलंगवा, १४ कात्तिक । सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहमाथि हिजो (बिहीबार) साँझ आक्रमणको प्रयास भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजारस्थित प्रमुख प्रशासकीय अधिकृत साह बस्दै आएको क्वार्टरमा केही वडाध्यक्षको नेतृत्वमा स्थानीय समूह पुगेको र तोडफोडसहित आक्रमणको प्रयास गरिएको प्रहरीले जनाएको छ ।

आक्रोशित वडाध्यक्ष र स्थानीयले मेयर साह र प्रमुख प्रशासकीय अधिकृतले लालबन्दीमै बसेर कार्यालय सञ्चालन गर्दै अनियमितता गरेको र जनताका समस्यातर्फ उदासिन रहेको आरोप लगाएका छन् । उनीहरूले कोठामा रहेका टेबल, कुर्सी र अन्य सामग्रीसमेत तोडफोड गरेका थिए । आक्रमण रोक्ने क्रममा वडा नं. ६ का वडाध्यक्ष सामसोगारथ राय यादव सामान्य घाइते भएका छन् । उनको नाक र आँखामा चोट लागेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोली पुगेपछि थप घटना हुन पाएन । प्रहरीले अवस्था नियन्त्रणमा लिएको छ । तर नगरप्रमुख साहले भने ती आरोप निराधार रहेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार, जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा धेरै कागजात र उपकरण जलेका कारण अहिले लालबन्दीमा बसेर वैकल्पिक रूपमा काम गर्नुपर्ने बाध्यता रहेको हो ।

‘हामी कागजात र सेवा प्रवाहको वैकल्पिक व्यवस्था गर्दै थियौँ, तर केही व्यक्तिहरू अराजक शैलीमा हुलहुज्जत गर्न आएका थिए,’ मेयर साहले भने । उनका अनुसार, जेनजी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड गर्नेहरूकै संलग्नतामा बिहीबारको घटना भएको हो ।