काठमाडौं, ३० जेठ । माओवादी शक्तिबीच तत्काल एकता गर्ने पक्षमा शीर्ष नेता रहेपनि पार्टीभित्र एकमत नुहँदा तत्काल असम्भव देखिएको छ ।
एमाओवादी र नेकपा-माओवादी दुवै अध्यक्ष एकताको पक्षमा देखिएपनि पार्टीभित्र उठेका फरक मतका कारण एकता कि संयुक्त मोर्चा बनाउने भन्नेमा विवाद कायमै छ ।
दुवै पार्टीका नेताहरुबीच केही दिनअघि राजधानीमा बसेको एक गोप्य बैठकमा यसविषयमा लामो छलफल भएको थियो । माइतीघरस्थित एक नीजि निवासमा बसेको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी अध्यक्ष मोहन वैद्यले तत्काल पार्टी मिलाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । तर राजनीतिक विचार र कार्यक्रमका आधारमा तत्काल त्यो सम्भव नहुने बाँकी नेताहरुले बताएका थिए ।
एमाओवादीबाट बाबुराम भट्टराई र माओवादीबाट सचिव नेत्रविक्रम चन्द भने तत्कालै एकता असम्भव भएकाले संयुक्त मोर्चा वा अन्य आधार बनाई अघि बढ्नुपर्ने पक्षमा उभिएका थिए । ‘एकताको कुरा नमिलेपछि फेरि बस्ने कुरा भएको छ’, तत्काल एकता प्रक्रिया अघि नबढे माओवादी शक्तिहरुबीच मोर्चाबन्दी गरेर अघि बढ्न सकिने औंल्याउदै बैठकमा सहभागी एक नेताले बिहीवार बताए ।
अनौपचारिक उक्त बैठकमा एमाओवादीबाट अध्यक्ष दाहाल, नेता भट्टराई र महासिचव कृष्णबहादुर महरा थिए भने माओवादीबाट अध्यक्ष वैद्य, महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्द सहभागी थिए ।
संविधानसभा चुनावमा अनेपेक्षित हार र द्वन्द्वकालीन मुद्दा ब्युंजाउनेलगायत कारणले एमाओवादी अध्यक्ष दाहाल जसरी हुन्छ पार्टी एकता गर्नुपर्ने पक्षमा खुलेरै लागेका छन् । त्यसका लागि कतिपय वार्ता एक्लैले वैद्यलगायत अर्को पक्षका नेताहरुसँग गरेको दाहाल निकट नेताहरु बताउँछन् ।
दाहाल र वैद्यबीच पटकौं भएका वार्ताका परिणास्वरुप माओवादी केन्द्रीय समितिले ६ बुँदे एकताको आधार तय गरेको थियो । त्यसलाई सम्बोधन गर्ने गरी अध्यक्ष दाहालले विराटनगर सम्मेलनमा राजनीतिक प्रतिवेदन पेस गरेपछि भट्टराई पक्षले अस्वीकार गरेको थियो ।
पार्टीभित्र नेता भट्टराई समूहले बेला बेलामा राख्ने फरक मतका कारण पनि दाहाल वैद्यसँग नजिकिएको स्रोतको दावी छ । ‘तर, त्यो त्यति सजिलो छैन । दाहालले बाबुरामलाई मनाउनुपर्नेछ भने वैद्यले विप्लबलाई’, एकता प्रक्रियामा महिनौंदेखि लागेका एमाओवादीका एक नेताले भने, ‘त्यसैले बीचको बाटो खोजिनेछ ।’ कान्तिपुर दैनिकबाट













प्रतिक्रिया