८ कार्तिक २०८३, आइतबार

युवकको रहस्यमय मृत्युपछि स्थानीयवासीले थालेको आन्दोलन स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwan-bus-rent-4रत्ननगर (चितवन), ११ साउन । चितवनको माडीका एक युवकको रहस्यमय मुत्युलाई लिएर स्थानीय जनताले सुरु गरेको आन्दोलन आजदेखि स्थगित भएको छ ।

पीडित पक्ष, स्थानीय बासिन्दा र चितवन प्रशासनबीच भएको छलफलमा सहमति जुटेपछि तत्कालका लागि आन्दोलन स्थगित गरिएको माडीका स्थानीयवासी कृष्ण चौधरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन गरियोस् भन्ने उजुरी लिने, शवको परीक्षण गर्ने र परीक्षणको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढाउने सहमति भएको चौधरीले बताउनुभयो । सहमतिपछि शव परीक्षण गरी मृतक सुनिल दरार्इंको आज देवघाटमा अन्त्येष्टि गरिएको छ ।

पीडितका परिवारजनलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै तीन दिनदेखि स्थानीयवासी आन्दोलित थिए । सहमतिपछि आरोप यथावत् रहेको तर आजदेखि सम्पूर्ण आन्दोलन फिर्ता भएको स्थानीयवासी ओम पाण्डेले जानकारी दिनुभयो ।

माडी नगरपालिका– ६ रमाइलोडाँडा बस्ने १८ वर्षीय सुनिल दराईंको तीनदिनअघि रहस्यमय रुपमा भरतपुरमा मृत्यु भएको थियो ।

प्रहरीले हिरासतमा रहेका बेला कुटपिट गरेकाले उनको मृत्यु भएको आरोप पीडितको छ । उक्त घटनालाई लिएर हिजो र अस्ति दुई दिन ठप्प भएको यातायात आजदेखि चलेको छ ।

बन्दका कारण प्रभावित भएका यात्रुलाई आज राहत मिलेको छ । गएको असार ३० गते मापसे गरेको फेला पारेपछि प्रहरीले एकदिन हिरासतमा राखेर उनीलगायत छजनालाई छाडेको थियो ।

प्रहरीले हिरासतमा राख्दा कुटपिट गरेका कारण सुनिल मृत्यु भएको आरोप उनका आफन्तजनले लगाएका छन् ।

सोही विषयमा माडी प्रहरी कार्यालयमा झडप हुँदा प्रहरीले लाठी र अश्रुग्यास प्रहारसमेत गर्नुपरेको थियो । सो क्रममा चारजना घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक निर्मल थापाले मापसे गरेका उनीसहित पाँचजनालाई असार ३० गते नियन्त्रणमा लिइएको र उनीहरु सबैलाई भोलिपल्ट यस्तो नगर्ने सर्तमा तारेखमा आउने गरी रोहवरमा छाडिएको तर कुनै यातना नदिएको दाबी गर्नुभएको छ । रासस