१ कार्तिक २०८३, शनिबार

वीरगञ्जमा राजस्वको छापा : सुन व्यवसायीको घरबाट ठूलो परिमाणमा अवैध सुन बरामद

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २८ असोज । वीरगञ्जस्थित एक सुन व्यवसायीको घरमा सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालय लगायतका निकायहरूको संयुक्त टोलीले ठूलो परिमाणमा स्रोत नखुलेको सुन बरामद गरेको छ ।

राजस्व अनुसन्धान कार्यालयका स्रोतका अनुसार माईस्थानस्थित व्यवसायी अभिषेक सर्राफको घरमा सोमबार बिहानदेखि सुरु भएको छापामारी दिउँसो अबेरसम्म जारी रहेको थियो । टोलीले घरभित्रका विभिन्न कोठा र सुरक्षित स्थानहरूमा लुकाइएका सुनचाँदीका गहना, बन्धकी राखिएका बहुमूल्य वस्तुहरू र कारोबारसँग सम्बन्धित कागजातहरू समेत बरामद गरेको जनाएको छ ।

सर्राफ वीरगञ्ज–८ मा रहेको अभिषेक ज्वेलर्सका सञ्चालक हुन् । राजस्व चुहावटको आशंकाको आधारमा राजस्व अनुसन्धान कार्यालयले उनको घर, कारोबार स्थल र गोदाममा खानतलासी गरेको थियो ।

प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार कारोबारसँग सम्बन्धित खाता, विद्युतीय माध्यम र अन्य प्रमाणहरू कब्जामा लिइएका छन् ।

अधिकारीहरूले सर्राफलाई पठाएको पत्रमा भनिएको छ, ‘राजस्व चुहावट भएको भन्ने सूचनाको आधारमा यो खानतलासी गरिएको हो । राजस्व चुहावट ‘अनुसन्धान तथा नियन्त्रण’ ऐन, २०५२ बमोजिम आवश्यक प्रमाणहरू कब्जामा लिइनेछ ।’

हाल टोलीले बरामद गरेको सुन लगायतका सामग्री माईस्थानमा रहेको सुनचाँदी व्यवसायी संघको कार्यालयमा लगी तौल तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ । यसै क्रममा अभिषेक सर्राफलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ ।

छापामारीपछि वीरगञ्जमा सञ्चालित सुन व्यवसाय र त्यससँग जोडिएका शंकास्पद कारोबारमाथि गम्भीर प्रश्न उठेको छ । स्थानीय व्यवसायीहरूबीच यो घटनाले ठूलो हलचल मच्चाएको छ ।

यसैबीच, सुनचाँदी व्यवसायीहरूले छापामारीको विरोध गर्दै नाराबाजी गरेका छन् । उनीहरूले राजस्व अनुसन्धान कार्यालयले व्यवसायीहरूलाई अनावश्यक दुःख दिएको र त्रसित बनाएको आरोप लगाएका छन् । ‘घरमा सामग्री राख्दैमा अनुसन्धान गर्नु अनुचित छ,’ व्यवसायीहरूको भनाइ छ ।

राजस्व अनुसन्धान कार्यालयले भने यो कार्य कानूनी प्रक्रिया अनुसार भएको र थप विवरणका लागि अनुसन्धान जारी रहेको जनाएको छ ।