
काठमाडौं, २४ असोज । निर्देशक कृशा चौलागाईंले निर्देशन गरेको नयाँ छोटो चलचित्र ‘ऐना’ यसवर्षको तिहारमा रिलिज हुने भएको छ । निर्माण पक्षले युएनए डिजिटल युट्युब च्यानलमार्फत चलचित्र सार्वजनिक गर्न लागेको हो ।
केपी फिल्म्सको ब्यानरमा निर्माण गरिएको यस चलचित्रको मुख्य भाव ‘जीवनको प्रतिबिम्ब’ रहेको निर्देशक चौलागाईले बताइन् । उनले भनिन्, ‘ऐना’ केवल दर्पण होइन, यो हाम्रो आत्मा र जीवनको कथा हो । प्रत्येक अनुहार र प्रत्येक क्षणमा एउटा कथा लुकेको हुन्छ- यही नै यस चलचित्रको सार हो ।’

चलचित्र ‘ऐना’ले तिहारको उज्यालो, आत्मचिन्तन र माया–सम्बन्धको गहिरो भावनालाई कलात्मक ढङ्गमा चित्रण गरेको बताइएको छ । चलचित्रले दर्शकलाई आफ्नै जीवन र समाजको प्रतिबिम्ब देखाउने प्रयास गरेको छ ।
यस छोटो चलचित्रमा भोलाराज सापकोटा र सरिता गिरीको सशक्त र यथार्थपरक अभिनय देख्न सकिनेछ । उनीहरूको संवेदनशील प्रस्तुतीले दर्शकको मन छुने विश्वास निर्माण पक्षको छ । चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।
केपी फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो र युएनए डिजिटलमार्फत विश्वव्यापी रूपमा प्रदर्शन गरिनेछ ।
निर्देशक चौलागाईं यसअघि ‘पिताम्बर’, ‘ऐन्चो पैंचो’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेकी छिन् । उनी फिल्म निर्देशनमा आउनु अगाडि निर्माताका रुपमा परिचित थिइन् ।








प्रतिक्रिया