भीमदत्तनगर, १० साउन । बैतडीमा गर्भवती भएपछि नियमित गर्भजाँच र बर्थिङ सेन्टरमा बच्चा जन्माउनुपर्छ भन्ने चेतनामा विकास भएकाले बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ ।
कुनै पनि महिलाले बच्चा जन्माउन नसकेर अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले हाल जिल्लामा ९३ ठाउँमा प्रसूति सेवा केन्द्र सञ्चालनमा आएका छन् । यस्तै यही साउन १ गते उद्घाटन भएको सकार स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा शनिबार एउटा महिलाले बच्चा जन्माएकी छन् । बर्थिङ सेन्टर उद्घाटन भएपछि पहिलो बच्चाका रुपमा पाटन नगरपालिका–२ की हीरा भट्टराईले छोरी जन्माएको अहेब नरेन्द्र भट्टराईले बताउनुभयो ।
स्वास्थ्य संस्थामा गएर चारपटक नियमित गर्भजाँच गरेबापत ४०० रुपैयाँ र प्रसूति गराएबापत एक हजार रुपैयाँ दिने गरिन्छ भने न्यानो झोला तथा बच्चा र आमालाई लुगा पनि दिने गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । ग्रामीणस्तरका महिलाले प्रसूति केन्द्रमै गएर बच्चा जन्माउन थालेपछि आमा र बच्चा दुवै खतरामुक्त हुने भएकाले स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउन जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आग्रह गरेको छ । रासस















प्रतिक्रिया