भक्तपुर, २३ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सरकाले गठन गरेको छानबिन आयोगप्रति कडा आपत्ति जनाएका छन् । सरकारले गठन गरेको छानबिन आयोग पूर्वाग्रही भएको बताएका हुन् । एमाले भक्तपुरले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘नक्कली छानबिन आयोग एमालेलाई मान्य छैन।’
ओलीले वर्तमान छानबिन आयोगलाई ‘पूर्वाग्रही’ र ‘नक्कली’ भन्दै अस्वीकृति जनाउँदै सो आयोगका संयोजकले तत्काल राजीनामा दिनुपर्ने माग गरे । उनले भने– ‘पहिला नै केपी ओलीलाई थुन्नुपर्छ भन्ने व्यक्तिको संयोजकत्वमा बनेको छानबिन आयोग नेकपा एमालेलाई मान्य छैन।’
उनले नेपालको राजनीतिक संघर्ष केवल ख्यालठट्टा नभई तीतो अनुभव भएको धारणा राखे । ‘हामीले जेलनेल भोगेका छौँ, कठिनाइ भोगको छौँ । यो हामीलाई नयाँ कुरा होइन, देशको रक्षाका लागि र हितका लागि हामी जुनसुकै बलिदान दिन तयार छौँ’, उनले भने ।
ओलीले हाल देशमा नयाँ पुस्ता नाममा चलाइएको आन्दोलनले भ्रम फैलाएर अस्थिरता निम्त्याएको आरोप लगाउँदै भने, ‘जेनजी भनेर केही युवालाई भ्रममा पारेर देशमा अस्थिरता मच्चाउनेहरूले वितण्डा मच्चाए।’
त्यसैगरी उद्योग, पर्यटन र ऐतिहासिक सम्पदामाथि भएको क्षतिलाई निन्दा गर्दै उनले भने, ‘नेपालका उद्योगहरूमा आगो लगाएर ध्वस्त पार्ने, ऐतिहासिक सम्पदा जलाउने, पर्यटन व्यवसाय समाप्त बनाउनेहरूले देश बनाउँदैनन्।’
अध्यक्ष ओलीले अहिले देखिएको अराजकता र अपराधजन्य गतिविधि देशको साझा हित विपरीत रहेको बताएका छन् । ‘अराजकता यस देशमा स्थायी हुन सक्दैन। शान्ति, स्थिरता र कानुनी राज्यको पक्षमा यो देशलाई फर्काइनेछ’, उनले भने ।
ओलीले संसद् विगठन असंवैधानिक र गैरकानुनी भएको बताउनुभयो । यसको उपचार खोजिने उनले स्पष्ट पारे । उनले सरकार लोकतान्त्रिक मान्यताविहीन भएको बताए । ‘अहिलेको सरकार संविधानसम्मत छैन,’ उनले भने, ‘ यो लोकतान्त्रिक सरका होइन, लोकतान्त्रिक शक्ति र नेपाली जनताले अलोकतान्त्रिक सपना देख्नेहरूको टाउकामा चिसो पानी खन्याउनेछन्।’
प्रधानमन्त्रीसम्बन्धी संवैधानिक प्रश्न उठाउँदै उनले वर्तमान प्रधानमन्त्रीको स्थितिलाई पनि आलोचना गरेका छन् । साथै, सरकारले राजनीतिक दलहरूलाई दबाउने तरिकाले चुनाव गर्ने जोखिम रहेको बताउँदै ओलीले भने– ‘राजनीतिक दललाई दमन र बदनाम गरेर, राजनीतिक दलसँग पौठाचोरी गरेर चुनाव हुन्छ ?’
अध्यक्ष ओलीले सरकारको व्यवहारप्रति तीव्र चिन्ता व्यक्त गर्दै गृह मन्त्रालयको कार्यशैली र अपराधव्यवस्थापनप्रति प्रश्न उठाए । ‘गृह मन्त्रीले विभिन्न व्यक्तिलाई बोलाएर फलाना–फलाना व्यक्तिका विरुद्ध उजुरी ल्याउन भनेका छन्, त्यही अनुसार उनीहरूले उजुरी गरेका छन्, नाटक गरिरहेका छन्( देशको अहित हुने गरी नाटक।’
सभामा ओलीले आफ्नो सम्पत्तिको छानबिन गर्न आग्रह गरे । यदि कसैलाई सम्पत्ति छानबिन चाहिएको हो भने उहाँको सम्पत्तिको पनि बहु–पटक छानबिन गर्न माग गरे । उनले चुनौती दिँदै भने, ‘मेरो सम्पत्ति छानबिन गरियोस्स एक पटक होइन, दश पटक। यदि चित्रगुप्त छ भने त्यसको वैखाता पनि पल्टाएर हेरियोस्।’







प्रतिक्रिया