– एनपी प्रधान
साउदी अरब । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साउदी अरबको आठौं बार्षिकोत्सव सम्पन्न भएको छ ।
साउदी अरबमा रहेर संघमा आबद्ध भएका नेपालीहरुले साउदीको खोबार स्थित गल्फ दरबार रेष्टुुरेण्टको सभा हलमा भेला भएर आठौं बार्षिक उत्सव भब्यताका साथ सम्पन्न गरेको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका सल्लाहाकार धरम केसीले रोजगारीका लागी खाडी मूलुक जाने नेपालीहरुका लागी सरकारले ल्याएको फ्रि भिसा फ्रि टिकटको ब्यस्था स्वागतयोग्य रहेको भन्दै तत्काल त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । यो नीति खाडी मूलुकहरुमा रोजगारीका लागी जाने नेपाली कामदारहरुको प्रत्यक्ष हितमा रहेको उल्लेख गर्दै केसीले यो ब्यबस्थाले नेपाली युवाहरुमा उत्साह जगाएको बताउनुभयो । निःशुल्क बैदेशिक रोजगारीको ब्यबस्थालाई छिटो भन्दा छिटो लागू गरि बैदेशिक रोजगारीलाई ब्यबस्थित गर्न र गराउनका लागी सबै पक्ष एक भएर सरकारलाई दबाद दिनुपर्ने उहाँंको धारणा थियो ।

बार्षिकोत्सवको अवसरमा आफ्ना भनाईहरु राख्दै संघका अध्यक्ष नारायण पासवान्ले नेपाली राजदुतावास साउदीले पिडा र समस्यामा परेका नेपाली कामदारको हितमा काम गर्न नसकेको गुनासो गर्नुभयो । दुतावासको आलताल गर्ने प्रबृत्तिका कारण बैदेशिक रोजगारीका आगी साउदी आउने नेपालीहरुले समस्या भोग्नु परेको बताउनुभयो । आफूहरु सदैब नेपाली कामदारको हक हितका लागी सर्मपित हुदै आएको उल्लेख गर्दै नेपाली कामदारले भोग्नु परेका पिडा र समस्यालाई ध्यानमा राख्दै संघले आगामी दिनमा आफ्ना कार्यक्रमहरुलाई थप प्रभावकारी ढंगबाट अघि बढाउने अध्यक्ष पासवान्ले प्रतिबद्धता जनाउनुभयो । उहांले प्रवासी नेपालीहरुको हितलाई ध्यानमा राखेर आयमूलक परियोजना सञ्चालन गरिने बताउनुभयो । संघले खेलकुद र सांस्कृतिक क्षेत्रको बिकासका लागी अभियान थाल्ने, बार्षिक क्यालेण्डर छाप्ने, स्मारिक प्रकाशन गर्ने लगायतका गतिबिधीलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो ।
कार्यक्रममा पूर्व अन्तराष्ट्रिय समन्वय समितिका मध्यपूर्व सह संयोजक रामु सैयद, अन्तराष्ट्रिय समन्वय समितिका पूर्व महिला सदस्य यास्मीन बेगम, एनआरएनए साउदीका प्रमुख सल्लाहाकार डोर बहादुर कार्की, संस्थापक सदस्यहरु बिरेन्द्र कुमार चौधरी, ओम घले , लगायतले बोल्दै संघको भूमिकालाई मजदुरमैत्री बनाउदै थप क्रियाशिलताका साथ अघि बढाउनुपर्ने जोड दिनुभएको थियो ।
कार्यक्रम नारायण पासवान्को सभापतित्व, स्थानिय समन्वय समिति खोबारका अध्यक्ष नरेन्द्र कार्कीको स्वागत तथा सदस्य नारायण वाग्लेको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा नेपाली संस्कति झल्कने खालका गित तथा नृत्यहरु प्रस्तुत गरिनुका साथै एक आपसमा शुभकामना आदानप्रदान गरिएको थियो । झण्डै ५ लाखको हारहारीमा नेपाली कामदार रहेको साउदीमा करिब ३ हजार नेपालीहरु एनआरएनमा आबद्ध रहेको छन् ।















प्रतिक्रिया