३० असार २०८३, मंगलबार

गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १३ असोज । गोरखा दरबारको दशैंघरबाट काठमाडौंको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादशैंअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।

बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उनको भनाइ छ । गोरखा दरबारको दशैंघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोकेर ल्याई गाडीमा राखेर पठाएका हुन् । गोरखा दरबारको दशैंघरबाट बाजागाजासहितको र्‍याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

“गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पुर्‍याएपछि आजै साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ”, उनले भने । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादशैंको सातौं दिन गोरखा दरबारको दशैंघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमान ढोका दरबारमा लगेर भित्र्याउने गरिएको छ ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतले गोरखा दरबारको फूलपातीको बिदाई गरेर हनुमान ढोका दरबार पठाएका हुन् । गोरखा दरबारको दशैंघरमा पनि आज साँझ हर्ष बढाइका साथ फूलपाती भित्र्याइन्छ ।